धादिङ्गमा एमाले-कांग्रेस झडप, गाउँपालिका अध्यक्ष सहित आधा दर्जन घाइते

Posted on: 20 May, 2017


जेठ ६, धादिङ्ग | धादिङ्गको ज्वालामुखी गाउँपालिका स्थित उखुबारीमा एमाले-कांग्रेसबीच झडप हुँदा नवनिर्वाचित गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिना सहित आधा दर्जनबढी घाइते भएका छन् ।

कांग्रेसद्वारा सनिबार बिहान मैदीमा बिजयी जुलुस लगाउने क्रममा एमाले कार्यकर्ताले कांग्रेसको झण्डा र ब्यानर च्यातेको बिषयलाई लिएर बिबाद सिर्जना भएको हो । 

झडपमा बोत्तल, ढुंगा र चिर्पट समेत प्रहार भएका थिए। एमालेले हानेको ढुंगाबाट गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिनाको टाउको फुटेको छ भने नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट गम्भिर घाइते भएका छन् । त्यस्तै कांग्रेसका यामनाथ दनै, दामोदर भट्ट सहित ६ जना घाइते भएको गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिनाले साझा सबाललाई बताएका छन् । अध्यक्ष तिमल्सिनाका अनुसार विजय जुलुस मनाएर फर्कनेक्रममा गाडीमा आएको एमालेले कांग्रेसलाई आक्रमण गरेको थियो ।

धादिङबाट पत्रकार मनिष दुवाडीका अनुसार एमालेको प्रहारबाट घाइते भएका कांग्रेसका जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट र दामोदर भट्टलाई टाउकोमा गम्भीर चोट देखिएपछी धादिङ्ग अस्पतालबाट काठमाडौँ रिफर गरिएको छ ।

कांग्रेसले एमालेले सुनियोजित ढंगले कांग्रेसमाथि आक्रमण गरेको बताएको छ ।

माथिको अघिल्लो तश्विरमा: गम्भीर घाइते भएका नेपाली कांग्रेस, जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट र पछिल्लो तश्विरमा: टाउकोमा चोट लागेको अवस्थामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिना | तश्विर: मनिष दुवाडी (धादिङ्ग)

यस बिषयमा तपाइको प्रतिक्रिया...!