बैतडीमा जिप दुर्घटनामा १४ जना घाइते, तीन गम्भीर

Posted on: 23 May, 2017

जेठ ९, बैतडी | बैतडीको दशरथचन्द राजमार्गमा सोमबार साँझ जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । 

गम्भीर घाइते हुनेमा बैतडीको सुर्नया गाउँपालिका–८ सिखरपुरका ३२ वर्षीय धनीराम लुहार, सोही ठाउँका २२ वर्षीय इन्द्रराम लोहार र बल्देव विक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रिफर गरिएको उहाँले बताउनुभयो । अन्य घाइतेको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ । 

बैतडीको खोडपेबाट सदरमुकाम गोठलापानीका लागि छुटेको से १ ज २४५ नम्बरको जिप सोमबार साँझ ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ छेला नजिक दुर्घटनामा परेकोे हो । 

जिप चालक दशरथचन्द नगरपालिका–२ का आनन्द बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकवाट २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!