रौतहटमा बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

Posted on: 08 Jun, 2017


अभिमनु कुमार पटेल/जेठ २५, रौतहट । रौतहटमा होटलबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मधेशमा स्थानीय चुनाव नजिकदै गरेको क्रममा बुधबार राति बजेको समयमा  बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाटमा खटी गएको प्रहरीको टोलीले चन्द्रपुर न.पा. ४ स्थित पूर्व पश्चिम राजमार्गको छेउमा रहेको न्यु सुदर्शन होटेल एण्ड लजको कोठा नं १०५ मा चेक जाँच गर्दा सो कोठा भित्र २ जना बिष्फोटक पदार्थ सहित फेलापरेको थियो । 

पक्राउ परेका दुवैजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको प्रहरीको अनुमान छ ।

बिष्फोटक पदार्थमा पक्राउ पर्नेमा झापाको धर्मपुर वडा नं ६ का ३२ बर्षिय दिलिप थापा र सोही ठाउँकै ३५ वर्षीय तारा थापा रहेका छन् ।

पक्राउ परेका दुवै जनासँग ३० वटा जिलेटिन, २२ वटा डिटोनेटर, सेफटी फ्युज ४ फिट तिन इन्चको एक थान, एक फिट दुई इन्चको २ थान, २० इन्चको दुई थान, मोबाईल ४ थान र ग ३ प ३९११ नम्बरको यामाहा मोटरसाईकल सहित फेलापरेकोले २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् ।

पक्राउ परेको दिलीप थापासँग २०७३ असोज १६ को मितिमा सूचना विभागबाट रातो खबर साप्ताहिकको पे्रस पास समेत फेला परेको छ । 

सो बिष्फोटक पदार्थ सहित पक्राउ परेका दुई जना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख पोखरेलले बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!