अवैध कल वाइपास गरेको आरोपमा पक्राउ

Posted on: 20 Jun, 2017

असार ६, गौशाला । महोत्तरी प्रहरीले अवैध रुपमा कल वाइपास गरेको आरोपमा जलेश्वर नगरपालिका– ५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई आज पक्राउ गरेको छ । 

अभियुक्त अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिई अवैध कल सेन्टर खोलेर कल वाइपास गर्दै आएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

अजमतले सञ्चालन गरेको अवैध कल सेन्टरबाट कल वाइपास गर्न प्रयोग हुने राउटर र माइक्रोवेभ एन्टिना युपिएस, स्टेब्लाइजर, पावरबोर्ड र झोला एक एक थान, ठूलो ब्याट्री, मोबाइल र स्पिकर दुई दुई थान, विभिन्न कम्पनीका प्रयोग भएका नेपाली रिचार्ड कार्ड पाँच थान, इलेक्ट्रोनिक्स केबुल २० मिटर र लाइन केबुल १५ मिटर बरामद गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!