आवधिक जिल्ला विकास योजनाप्रति सरोकारवालाको चर्को आक्रोश, दलहरुको असहमति

Posted on: 25 Jun, 2017

पर्वत, असार ११ । –साविकको जिविसले दुई बर्षअघि निर्माण गर्न दिएको आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति क्रियाशिल राजनीतिक दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले तिब्र असन्तुष्टि जनाएका छन् । उनीहरुले समन्वय पनि नभएको,  प्रतिवेदनमा महत्वपूर्ण केही नसमेटिएको र आवधिक जिल्ला विकास योजना हचुवामा निर्माण गरिएको भन्दै अन्तिम प्रतिवेदन प्रस्तुतीका क्रममा शनिबार चर्को आक्रोश ब्यक्त गरेका हुन । प्रमुख दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले आवधिक जिल्ला विकास योजनाको कुनै औचित्य नभएको भन्दै आफुहरुले त्यसलाई मान्यता नदिने बताए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासुले हचुवा र बिना समन्वय योजना ल्याइएको भन्दै नेपाली काँग्रेसले मान्यता नदिने बताइन् । ‘आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति हाम्रो कुनै सहमति छैन, यो हचुवा र बिना समन्वय तयार गरिएको छ’ उनले भनिन्–‘नेपाली काँग्रेसले यो योजना पारित गर्नेपक्षमा छैन ।’ नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले पार्टीको छलफल र समन्वयबिना योजना बनाइएकोमा आफ्नो गम्भिर असहमति रहेको बताए । ‘मैले यो योजनाको हस्ताक्षर गर्ने सक्दिन’ उनले भने ।

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य दिपक आचार्य र राप्रपा पर्वतका अध्यक्ष ईश्वर गिरीले आवधिक योजना निर्माणमा लापरबाही भएको बताए । ‘यस्तो योजनालाई हामी समर्थन जनाउन सक्दैनौ’ राप्रपा अध्यक्ष गिरीले भने । योजनाको बिरोध गर्दै एमाले अध्यक्ष पदम गिरी, राप्रपाका अध्यक्ष इश्वर गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य मनकुमारी पाइजा कार्यक्रम छाडेर बाहिरिएका थिए । दलसँगै अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले पनि आफुहरुलाई विभिन्न बिषयगत समितिमा राखिएपनि एउटा पनि बैठक राखेर छलफल नगरिएकोमा आपत्ति जनाएका थिए । ‘समितिमा राख्ने तर योजना निर्माणमा सहभागी नगराइएकोमा मेरो आपत्ति छ’ सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटाले भने ।

अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले पनि बिषयगत समितिमा राखेर छलफल र समन्वय नगरिएको गम्भिर असहमति जनाएका थिए । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले योजना निर्माण, दल तथा सरोकारवाला निकायलाई बुझाउने ढंग नपुग्दा बिरोधका स्वर सुनिएको बताए । ‘अहिले तयार भएको प्रतिवेदनलाई गहन रुपमा अध्ययन गर्नका लागि दलका प्रतिनिधिलाई एक÷एकप्रति दस्तावेज उपलब्ध गराउछौ, त्यसपछि पुनः छलफल गर्छौ’ भुसालले भने । पर्वतको पाँच बर्षे आवधिक जिल्ला विकास योजना नेस्ट, इकोकोड, ब्राईट फ्युचर इन्टरनेसनल काठमाडौले तयार पारेको हो ।
जिल्ला विकास समितिले योजना निर्माण गर्न २० लाख ३७ हजार रुपैयाँको सम्झौता गरेको थियो । अहिले स्थानीय तह कार्यान्वयनमा आइसकेपछि पाँच बर्षको एकमुष्ठ र जिल्लाको तत्कालिन गाउँ विकास समिति नछुट्टाइ बनाइएको यो योजना बनाउनुको कुनै अर्थ नहुने देखिएको छ । जिल्ला विकास समितिले यो योजना निर्माणका लागि संस्थासँग सम्झौताबाहेक लाखौ रुपैयाँ सकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!