देउरानी-जेठानीको लडाइँ, सासूको टाउको दुखाइ

Posted on: 25 Jun, 2017

गुल्मी, असार ११ - गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने पल्लो घरमा कांग्रेसको। वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुई पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्। बिहान चिया पिउने बेलामा र कौसीमा कपडा सुकाउने बेलामा उनीहरूबीच पारिवारिक गफ चल्छ। तर, अरू बेला भने उनीहरू एकअर्काका पार्टीविरुद्ध घरदैलो कार्यक्रममा व्यस्त हुन्छन्। यो दृश्य हो, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ को। जहाँ जेठानी र देउरानीबीच महिला सदस्यका लागि चुनावी भिडन्त हुँदैछ।


यो वडामा नेपाली कांग्रेसबाट एकाघरकी जेठानी लक्ष्मी पाण्डे महिला सदस्यको उम्मेदवार बनेकी छिन् भने नेकपा एमालेले सोही पदका लागि उनकी देउरानी गीता पाण्डेलाई उठाएको छ। दुवैजना आफ्नो जितमा निश्चिन्त छन्।
जेठानी लक्ष्मीका श्रीमान रामप्रसाद पाण्डे सर्वसाधारण हुन्। उनलाई चुनावी चहलपहलसँग मतलब छैन। उनी घर सम्हालेर बसेका छन्।
देउरानीका श्रीमान् पद्म पाण्डे शिक्षण पेसामा छन्। अरू शिक्षक चुनावी प्रचार प्रसारमा व्यस्त भए पनि पाण्डे भने अध्यापनमै लागिरहेका हुन्छन्।


श्रीमानको आ–आफ्नै व्यस्तता छ। तर चुनावी मैदानमा उत्रिएका उनीहरूका श्रीमतीलाई चिया पिउने फुर्सद पनि छैन। घरघर डुली हात जोडेर मत माग्दैमा दिन बित्छ उनीहरूको। ‘सुरुमा दिदी कांग्रेसबाट उपमेयरमा उठ्ने चर्चा थियो। त्यही भएर म एमालेबाट सदस्यमा उठें,’ गीताले भनिन्, ‘दिदीले उपमेयरको टिकट नपाएपछि एउटै पदमा प्रतिस्पर्धा गर्नुपरेको हो। यसले पारिवारिक सम्बन्धमा कुनै असर पारेको छैन।’


जेठानी लक्ष्मीले पनि चुनावी कारणले पारिवारिक सम्बन्धमा कुनै असर नपरेको बताइन्। ‘हामी एकअर्काविरुद्ध जनतामा पुगेका छैनौं,’ लक्ष्मीले भनिन् ‘कांग्रेस र एमाले पार्टीका उम्मेदवार भएर पक्षविपक्षमा उत्रेका हौं।’
सासुलाई भने कुन बुहारीलाई भोट दिने भन्ने समस्या परेको छ। कान्छी बुहारी गीताको स्याहारसुसारमा बसे पनि जेठी बुहारी लक्ष्मीले पनि उत्तिकै माया र स्याहारसुसार गर्ने भएकाले दुवैलाई हार्न नसकिने सासु देवीकला पाण्डेले बताइन्। ‘दुइटै बुहारी एउटै पदमा फरक–फरक पार्टीबाट उठेपछि अप्ठेरो भएको छ,’ ८० वर्षीया पाण्डेले भनिन्, ‘भोट हालौं कि नहालौं।’
यस्तो समस्या यहाँका धेरै घर परिवारमा परेको छ। इस्मा गाउँपालिकाको एक वडामा एकै परिवारका तीनजना अलग–अलग पार्टीबाट उम्मेदवार बनेपछि परिवारमा समस्या उत्पन्न भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!