नवलपरासीमा नेपाल-भारत सीमा नाका बन्द

Posted on: 26 Jun, 2017

सरु शर्मा/असार १२, नवलपरासी । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नवलपरासी जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमति बमोजिम असार १२ गते साँझ ५ बजेदेखि १४ गते साँझ ७ बजे सम्म ४८ घन्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको छ । छिमेकी राष्ट्र भारत संग जोडिएको परासीका महेसपुर, विषुनपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेण्ी नाका बन्द गरिने छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ रानाले बताए । यतिबेला प्रहरीले महेसपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी नाकामा सुरक्षा व्यवस्था कडा बनाउदै सख्त निगरानी गरेको छ ।

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्ती र सहरका टोल टोलमा सुरक्षालाई थप चुस्त बनाइएको रानाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!