सुन्तलीलाई बलात्कार गरी हत्या गर्ने युवक पाँच बर्षपछि पक्राउ

Posted on: 26 Jun, 2017

असार १२, काठमाडौँ । ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई पाँच वषपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप सैपु गाविस–१ सिरिसे कवैटारका श्याम राउत रहेका छन् । राउतमाथि २०६८ माघ ५ गते सोही स्थानका १४ वर्षीया सुन्तली तामाङलाई बलात्कार गरी हत्या गरेको आरोप छ । पक्राउ राउतलाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक गणेश केसीले आफू क्षेत्रीय प्रहरी प्रमुख भएपछि सो मुद्दालाई प्राथमिकतामा राखेर अनुसन्धान गरेको बताउँदै यही असार ११ गते रुपन्देहीबाट राउतलाई पक्राउ गरेको जानकारी दिनुभयो । 

तत्कालीन समयमा प्रहरीको लापार्बाहीका कारण घटनाको अनुसन्धानमा ढिलाइ भएको स्वीकार्दै केसीले सो मुद्दालाई प्रभावित बनाउन खोज्ने प्रहरी अधिकृत सञ्जीव शर्मालाई प्रहरी सङ्गठनले थप अनुसन्धान गरी आवश्यक कारबाही गर्ने प्रष्ट पार्नुभयो । 

घटनापछि भारतका विभिन्न सहरमा बसोबास गर्दै आएका अभियुक्त राउत पक्राउ परेपछि प्रहरीसँगको प्रारम्भिक बयानमा आफू नै सो घटनाको मुख्य अभियुक्त भएको बयान दिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!