रामेछापमा जेब्रा क्रसिङ छ, सडक पेटी छैन

Posted on: 29 Jun, 2017


निरोज कुमार थापा/असार १५, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारको मुख्य सडकमा ट्राफिक प्रहरीले अहिले धमाधम जेब्रा क्रसिङ बनाउँदै छ । सडक नियम सिकाउँदै ट्राफिक प्रहरीले सडक डिभिजन कार्यालयसँग कुनै तालमेल नै नगरी जेब्रा क्रस बनाउन थालेको हो ।

 यस अघि पनि ट्राफिक प्रहरीले मन्थलीका मुख्य बजार क्षेत्र देवकोटा चोक, जिल्ला समन्वय समिती रामेछापको मुख्य गेट, बसपार्क लगायतका क्षेत्रमा जेब्रा क्रस बनाएको थियो । गाडीको धुवाँ र घर बनाउन बाटोमा थुपारिएको निर्माण सामग्रीले क्रसिङ स्थल मेटिएपछि फेरी बनाउन थालिएको हो । साँघुरो सडक, सर्वसाधारणको चाप, सडक छेवैमा निर्माण सामग्री थुपारिएको, सवारी पार्किङ स्थल पनि सोही सडक भएका कारण जेब्रा क्रसिङको खासै उपयोग भने भएको देखिदैन । 


ट्राफिक प्रहरीले सडक पेटी नै नभएको ठाउँमा धमाधम जेब्रा क्रस बनाउँदै छ । सडक डिभिजन कार्यालय रामेछापले सडक स्तरोन्नति र सडक पेटी बनाउन कुनै चासो देखाएको छैन । सडक नियम बारे जानकारी दिने प्रहरीको उदेश्य सह्रानिय भएपनि सडक डिभिजनले सडक पेटी नबनाउँदा र सडक मिचेर बनाईएका घर, टहरा भत्काउन नसक्दा ट्राफिक प्रहरीको उदेश्य पूरा नहुने देखिन्छ । 

यस विषयमा रामेछाप प्रहरी प्रवक्ता प्रेम जोशीले भने पहिले नै जेब्रा क्रस भएको ठाउँमा पुनः त्यसलाई सफा गर्ने काम मात्रै भएको बताए । प्रहरीले गरेको काममा सडक डिभिजनको कुनै सम्बन्ध नरहेको उनको भनाई छ । यस बिषयमा जिल्ला ट्राफिकसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!