विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Posted on: 06 Jul, 2017


प्रकाश धौलाकोटी/असार २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा रहेको गुराँस बचत तथा ऋण सहकारी संस्थाले ३२ जना विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । 

संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसरमा म्याङलुङ्ग–१ को थलडाँडास्थित रामथला आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

विद्यालयमा अध्ययन सबै ३२ जना विद्यार्थीहरु लाई प्रति व्यक्ति तीन सय रुपैयाँ बराबरका कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाका सचिव लक्ष्मीनारायण मिश्रले बताए । 


संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुले विद्यालयमा पुगेर आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले शैक्षिक सामाग्री वितरण गरे ।

सहकारीले सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरणको कार्यक्रम राख्नु प्रशंशानीय भएको जिशिअ पोखरेलले बताए । उनले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गरे । शैक्षिक सामाग्री पाएपछि नानीहरुलाई विद्यालय आउन सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान तामाङले बताए ।


विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरुको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको प्रधानाध्यापक भवानीप्रसाद इस्वोले बताए । ०७० साल असार २१ गतेबाट म्याङलुङ्ग नगरपालिका–१ मा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको सहकारीमा हाल ८ सय ३९ जना शेयर सदस्य रहेका छन् । सहकारीले हालसम्म ३ करोड बढी निक्षेप संकलन गरेको छ भने पुँजी १ करोड बढी रहेको जनाएको छ । 

शैक्षिक सामाग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष टिकाराम खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपक कट्टेलले  कार्यक्रमको औचित्यबारे प्रष्ट्याउँदै सहभागीलाई स्वागत गरेका थिए । 

संस्थाले अहिलेसम्मको चार वर्षको अवधिमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत थुप्रै कार्यक्रमहरु गरिसकेको व्यवस्थापक मिननाथ दाहालले बताए ।


उनका अनुसार संस्थाले यसअघि रक्तदान, सिंहवाहिनी मन्दिर सरसफाई तथा रङरोगन, संरक्षण, स्वच्छ र हराभरा म्याङलुङ्ग अभियानको थालनी, प्रकोप पीडितहरुलाई राहत लगायत कामहरु गर्दै आएको छ । अहिले संस्थाले दैनिक कार्यालय सन्चालन गरी बचत, ऋण लगानी, असुली लगायत विभिन्न कारोबार गर्दै आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!