तिन महिना पछि घर फर्किए म्यादी

Posted on: 07 Jul, 2017


नन्दराम जैशी/असार २३, जुम्ला । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि ३ महिना सम्म भर्ती भएका जुम्लाका म्यादी प्रहरी विहिबारदेखि घर फर्किएका छन् । 

स्थानीय निर्वाचन २०७४ को लागि गत चैत २५ गतेदेखि म्यादी प्रहरी नियूक्ति भई २०७४ असार २१ गतेसम्म शान्ति सुरक्षाका लागि ड्युटी गरिरहेका जुम्लाका झण्डै ३ सय ३९ जना म्यादी प्रहरी घर फर्किएका हुन् ।

विहिबार जिल्ला प्रहरी  कार्यालयले एक औपाचारिक कार्यक्रम गरी उनिहरुको बिदाई गरेको छ । यस अघिनै १३ जना म्यादी प्रहरीले अवकाश लिएका थिए । म्यादी प्रहरीकै  रुपमा रही ३ महिना सम्म सदरमुकामा कोठा लिएर बसेका अधिंकाश म्यादी प्रहरी आजनै कुम्लो कुटिरो गरी घरको बाटो तय गरेका छन् ।  कार्यक्रमको अबसरमा म्यादी प्रहरीको रुपमा निश्चित समय अवधिभर ईमान्दारपुर्वक कार्य गरे बाफत प्रमाणपत्र सहित भव्य रुपमा बिदाई गरिएको प्रहरी नायब उपरिक्षक गुरुविष्णु काफेलले बताउनुभयो । 

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचन जुम्लामा शान्त र मर्यादित तरिकाले सम्पन्न हुनुमा म्यादी प्रहरीको भुमिका सरानिय रहेको उहाँले बताउनुभयो । सरकारले म्यादी प्रहरीकोे लागि छुट्टाएको बजेटमा उनिहरुले खाएको खाना अनुसारको रकम मात्र कटाई एक पैसा तलमाथि नहुने गरी चेक मार्फत सबै तलब भुक्तानी गरिएको डिएसपी काफ्लले बताउनुभयो । उहाँका अनुसार ३ महिनाको अबधिभर म्यादी मध्ये सबै भन्दा उत्कृष्ट काम गर्ने धनबहादुर रावत र धनलक्ष्मी भण्डारीलाई पुरुस्कृत समेत गरिएको छ ।


दुई महिना सम्मको लागि भनेर भर्ती गरिएता पनि दोस्रो चरणको निर्वाचन सरकारले  सार्ने निर्णय गरेपछि पुनः एक महिना थप गरी ३ महिनासम्म अर्धप्रहरीकोे रुपमा शान्ति सुरक्षाका लागि काम गर्न पाउदा अति गर्भ लागेको म्यादी प्रहरीका कमान्डर तेजबहादुर रावलले बताउनुभयो । 

निर्वाचन देखि हालसम्म जस्तो सुकै परिस्थितिमा संगै रमाईलो गरेका साथीहरु  एक अर्काबिच छुट्नु पर्दा न्यास्रो लागेको महिला म्यादी प्रहरी धनलक्ष्मी भण्डारीले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालयका अनुसार यहि असार २६ गतेबाट प्रहरी जवान छनौट प्रक्रियामा म्यादी प्रहरीहरुलाई बिशेष राहतको अबसर प्रदान गरिने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!