जनप्रतिनिधीसंग वाँदर नियन्त्रणको माग

Posted on: 07 Jul, 2017

प्रेम सुनार/असार २३, गुल्मी । गुल्मीका विभिन्न स्थानमा बाँदरबाट आतंकित भएका कृषकहरुले उमेदावारहरु भोट माग्न जाँदा वाँदर नियन्त्रणको माग गरेको विजयी उमेदवारले बताएका छन् ।

‘अरु वरु पर्दैन्थ्यो , रातदिन खेतीवाली खाएर हैरान पारेका बाँदर लखेट्ने कर्मचारीको व्यवस्था  मिलाई दिए धन्य हुने भनेर जनताले भोट माग्न जाने बेलामा माग गरेको’– रेसुङ्गा नगरपालिका वडा नम्वर ७ का नवनिर्वाचित वडाध्यक्ष मोहन पाण्डेले भने–‘हुन पनि  यस वडाका जनता बाँदरबाट निकै आतंकित बनेका  रहेछन् । ’

त्यस्तै  रुरु गाउँपालिका अन्तरगत साविकको थानापति , ग्वादी, रेसुङ्गा नगरपालिकाको अर्खले लगायतका जनताले पनि वाँदरले हैरान पारेको दुखेसो भोट माग्न जाने उमेदवारहरु संग गरेको विजयी उमेदवारले बताएका छन् ।

मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर सोमनाथ सापकोटाले यस्तै यस्तै  झिनामसिना विषयहरु नै जनताले भोट माग्न जाने बेलामा  माग गरेको बताए ।

 उनले भने–‘ मैले त जनताले ठुला ठुला विषय उठाउलान भनेको थिएँ, तर निकै झिना मसिमान कुरा जस्तै वाँदर आतंकबाट मुक्ति, कुला, नाला,  दुई चार मिटर पाईप  जस्ता विषय माग गरेका पाएँ । ’ 

उनले  जनताले पहिला आधारभुत कुराहरुनै माग गरेकोले त्यो  छिट्टै  पुरा गर्न सकिने दावी गरे । उनले मुसिकोट नगरपालिकामा पहिलो काम प्रत्येक घरमा विद्युत सुविधा पुराउन पहल गरिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!