सडक बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

Posted on: 08 Jul, 2017

असार २४, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । 

अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मि सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि सिधा यातायात अवरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री तथा सर्वसाधारण यात्रु् समस्यामा परेका छन् । 

सिधा यातायात अवरुद्ध बनेपछि यात्रुले सवारीसाधन परिवर्तन गरि यात्रा गर्नुपर्ने झन्झट भएको छ । बिहीबार साँझ नदी कटानले सडक बगाएको थियो । निरन्तरको वर्षाले कालीगण्डकीमा उर्लिएको बहावले क्षति पु¥याएको सडकलाई अस्थायी रुपमा मर्मत गरी खुलाउने प्रयास भइरहेको अन्नपूर्ण गाउँपालिका प्रमुख क्या डमबहादुर पुनले जानकारी दिनुभयो । 

अहिले कालीगण्डकीले कटान गरेका ठाउँमा अस्थायी रुपमा डोजरको सहायताले ठूला–ठूला ढुङ्गा राखेर नदीको बहाव रोकी एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । 

सिधा सवारी सञ्चालन नहुँदा सयौँ यात्रु समस्यामा परेपछि सडकको अवस्थाबारे शुक्रबार प्रजिअ राजुप्रसाद पौडेललगायत सुरक्षा निकायका अधिकारीलेस्थलगत निरीक्षण गर्नुभयो ।

जिल्लास्थित सुरक्षा निकाय र गाउँपालिकाको पहलमा सडक विभागका डोजर तथा दानास्थित निर्माणाधीन सबस्टेसनका दुई र घलेम्दी हाइड्रोपावर प्रोजेक्टको एक टिपर कटान भएको सडकलाई अस्थायी रुपमा सञ्चालन गराउने कार्यमा परिचालन भएका छन् । 

सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौँबाट मुस्ताङका लागि छुटेको सवारीसाधन भिरकाटेमै तथा जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रक पोखरेबगरमै रोकिएका छन् । आज साँझसम्म एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको सडक विभागका स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । सो सडकमा जिप, बस तथा मालबाहक ट्रक गरी दैनिक २०० सवारीसाधन सञ्चालन हुँदै आएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!