पसलमा भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटियो

Posted on: 10 Jul, 2017


प्रेम सुनार/असार २६, गुल्मी । चुनाव ताका दलित समुदायहरु हरेक राजनैतिक दलका  लागि निकै प्यारा बन्छन् । 

भाषणमा महान जनता सम्वोधित हुन्छन ।  अघि पछि छिःछिः  र  दुरदुरको व्यवहार गर्नेहरु पनि  चुनावताका तिनै दलित समुदायको घर भित्र पसेर खाना  समेत खाएर  जातिय समानताको मञ्चन गर्न र उनिहरुलाई जातिय मुक्तीको आश्वासन समेत  दिन  भ्याउँ छन् । तर चुनाव सकिए लगत्तै तिन दलका कार्यकर्ताहरुको दलितहरुलाई हेप्ने , विभेद गर्ने  प्रवृद्धि उहि पुरानै रहँदै आएको छ  ।

त्यसको ज्वालन्त उदाहरणका रुपमा गुल्मीको एक घटनालाई लिन सकिन्छ ।  पिडित पक्षका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक  पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसल भित्र पिसाव फेरी दिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले गोरु चुटे झैं चुटेर मरणाशन्य बनाईएको छ ।

त्यस वडाका ४२  वर्षिय कर्णबहादुर सार्कीलाई हलोगाडे वजारमा किराना पसल संगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीका श्रीमति शोभा कार्की र उनका छोरा कृष्ण कार्कीले मरणशन्य  हुने गरी कुटपिट गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पसलमा खान खाएको भाँडा नमाझेको र पिसाव समेत फेरेको आरोपमा कुटपिछ गरिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले बताए ।

निर्घात कुटिएका सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । उनको टाउँकोमा घाउहरु छन् । आँखामा रगत जमेको छ । ढाडमा लाठीका निलाडाम रहेका छन् ।  वायाँ पट्टीको सातौ नम्वरको करङ्ग समेत भाँचिएको  उनको उपचारमा संगल्न डाक्टर सुरेन्द्र रायमाझीले बताए ।

 पिडितको वयान यस्तो छ

–म चामल  लिन भनेर उनिहरुको पसलमा गएको थिएँ ।

–एक गिलास जति रक्सी खाएर जान्छु भनेर खाना थाले।

–खाँदै जाँदा तिन गिलास खाएछु । त्यो रक्सी खाएका भाँडा माझेर घर जा भन्नु भयो । रक्सीको बेला मैले अलि अटेर गरे जस्तो गरेछु । 

–त्यस पछि माझेर जान्छु भनेर भाँडा माझ्ने ठाउँतिर पसे 

–रक्सी अलि लगेको थियो । म भाँडा माझ्ने ठाउँमा लड्न –पुगेर  पानी भएको भाँडो मरो शरिर भरी प¥यो र म पनि भिजे, भुईभरी पनि  पानी भयो । साहुनी शोभाले त्यसै वेलामा भुँईमा पिसाव फे¥यो भन्ने वाहना बनाएर कुट्दै बाहिर निकाल्नु भएको हो ।

–त्यस पछि मेरी श्रीमति आएर थप कुटाई खाने डरले ओमबहादुर सिहको घरमा ल्याएर सुताईन

–त्यही घरमा सुतिरहेको बेला उनका छोरा कृष्ण खोज्दै आएर  एकाएक लाठी वर्षाए पछि म बेहोस भएर ढलेको हुँ ।

यसो भन्छिन् उनकी श्रीमति

–यदि पिसाव फेरेकै भए म लिपी दिन्छु भनेकै थिएँ । उनैका  पसलमा     रक्सीले टिल पर्नु भएका मान्छेलाई नकुट्नुस भनेर हात जोड्ता पनि हानेको हानै गरे । ओमबहादुर सिंहको घरमा रोक्न खोज्नेलाई पनि दिईएन्

–त्यहाँका पसल होटलहरुलाई हामी दलितले खाएको भाँडा नमाझ्ने हो भने त बाँच्नु छैन् । सधै माझ्दै आएका थियौं  , उहाँले पनि माझ्नु हुन्थ्यो होला तर रक्सी लागेर होला लड्नु भए छ ।

स्थानिय दलित महिला प्रतिनिधी मिरा बिश्वकर्मा

–त्यहाँका होटल पसलमा सधै त्यस्तै हो । भाँडा त अनिवार्य माझ्नु पर्दछ । 

–दमन र अत्यचार त सहँदै आएका थियौं तर हिजो गोरु चुटे झैं चुटेर वेहोस बनाउँदा स्टेचरमा हालेर अस्पतालमा लैजान समेत अवरोध गरियो ।

–त्यसरी कुट्न नहुने भनेर आवाज उठाउँदा म आफुको समेत घरमा गएर हातपातको प्रयास गरियो ।

–म कांग्रेसबाट दलित महिला उमेदवार  रहेको र उहाँ कांग्रेसमा भोट हालेको रिस समेत साँधियो ।

–यति वुलो घटनालाई पनि त्यहाँ उनिहरुका पक्षधरले सामन्य घटना ठानेका छन र उल्टै झुटा आरोप लगाएर उनै पिटाई खाने मान्छेकै गल्ती देखाउने तानावुना बुनिदैछ ।

घटना खेदजनक छः कांग्रेस प्रतिनिधी

स्थानिय नेपाली कांग्रेसका प्रतिनिधी केशव सिंह ठकुरीले यो जमनामा पनि होटल पसलहरुमा दलितहरुलाई भाँडा माझ्न लगाउनु र झन त्यसरी पिट्नु खेत जनक भएको प्रतिकृया दिए ।  त्यस माथी बेहोस भएर लडेको मान्छेलाई उनका आफन्तले उपचार गर्न लैजान खोज्दा धेरै अरु मान्छे जुटेर घेराउ गरेको आफुले समेत जानकारी पाएको उनले बताए ।

एमाले प्रतिनिधीको वचाउ

नेकपा एमालेका स्थानि प्रतिनिधी तथा त्यस वडामा नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले भने कुटपिटको आरोप लागेका  ति दुई आमा छोराको वचाउ गर्ने भाषा प्रयोग गरे ।

उनले भने–‘ दलितहरुले पनि आफ्नो व्यवहार सुधार गर्न जरुरी छ । बढि रक्सी पिएर जथाभावी बोल्न हुँदैन्थ्यो । म तिनै कार्की परिवारको घरमा बुझेर आएँ ।  त्यसरी कांग्रेसजनले उचाले जस्तो गरी कुटेको होईन रहेछ ।  हप्काएर घर पठाएको रहेछ् ।  पछि बाटोमा  लडेर घाईते भएको  भन्ने सुनेको छु ।’ दलित भनेर हुन्छ र ? व्यवहार पनि त राम्रो हुनु प¥यो नि ? यो प्रति प्रश्न केसीले बारम्वार दोहराए ।

आरोपितहरुको जिकिर

हामी कहाँ रक्सी किनेर खाएको होईन । अन्यत्रै बाट रक्सीले टिल परेर आएको थियो । उसको दाजु हामी कहाँ बसेर रक्सी पिउँदै थिए ।  उनैले दिएको रक्सी पिएर  जथाभावी वोल्दै थियो । भाँडा माझ्न लगाएको होईन ।

आफु माझ्न जाँदा भाँडा पल्टाई दिने , गरे पछि हप्काएर मात्रै पठाएको हो ’ आरोपित शोभा कार्कीले भनिन् त्यस पछि यहाँका केहि मान्छेहरुले बढाई चढाई गरेर केश ठुलो बनाउन खोजेका हुन् ।

मैले लाठीले हानेको होईन धक्काएको  मात्रै हुँ ।  मलाई झुटो आरोप लगाएका हुन् उनका छोरा कृष्णले भने तपाईहरुलाई जे सुनाईएको छ त्यो गलत हो  ।

हेरौं लाठी खाए नखाएको  तस्वीर आफै बोल्छ

 नव निर्वाचित त्यस वडाका अध्यक्ष केसी  र ति कार्की आमा छोराले भने झैं सार्की साँच्ची लडेरै त्यस्तो घाईते भए होलान ? तस्वीर आफै बोल्छ  । उनको ढाडमा आज दोश्रो दिन सम्म पनि लाठीका निला डामहरु छन् । आँखमा रगत जमेको छ । मुक्का प्रहार भएको  रक्ताम्मे आँखा, टाउँको, खुट्टा  र शरिरका अन्य चोटहरुले देखाउँछ  के कस्तो कुटटि भएको रहेछ भन्ने छर्लङ्ग देखाउँ छ । तर पनि यस्तै जालझेल गरिन्थ्यो पञ्चायत कालमा ।

वहुदल आए पश्चात पनि कुर्घाका एक जना दलितलाई अन्य जाती संग गैह्र दलित बनेर विवाहको भोज खान गएकोमा लघार्दै ढुङ्गाले हान्दै   मारिएको दलित अधिकारकर्मीहरु बताउँ छन् ।  तर सवै प्रमाणहरु नष्ट गर्दै उनलाई लडेर मरेको भन्ने पारिएको थियो । अहिले डेढ दशक पछि पनि त्यस्तै प्रकृतिको घटना दोहराउन खोजिएको  दलित अधिकारकर्मीहरुको टिप्पणी छ  ।  एमाले निकट  उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण बिश्वकर्माले यस घटनालाई आफुहरुले गम्भीर रुपमा लिएको र सवै दल विचारका अधिकारकर्मी जुटेर कार्वाहीको लागि सम्वन्धित निकायलाई घच्घचाउने बताए ।

स्थानिय दलित अधिकारकर्मी अमृत नेपालीले

एमाले जनले उनि कांग्रेस भएका कारण चुनावी रिस समेत फेरेको आरोप लगाए ।  उपचार गर्न लैजाँदा समेत आफुहरुलाई घेराउ गरिएको , अहिले सम्म पनि आफुहरुलाई होटल र चिया पसलहरुमा भाँडा नमाझेको खण्डमा याताना दिने गरिएको र  यति वेला त मरणाशन्य हुने गरी कुटपिटमा समेत उत्रिएको दुखेसो गरे ।

स्मरण रहोस वहुदल पश्चात पनि त्यही  साविकको त्यसै गाविसको मैदानमा चिया पसलमा  खाएको भाँडा नमाझेकै कारण बाटो हिडिरहेका हालको वडा नम्वर ३ का वावुराम सुनारलाई बाटो कुरेर बसेकका केहि युवाहरुले निर्घात कुटेका थिए । पछि अदालतमा मुद्धा परेपछि उनिहरुलाई मार्फ मगाईएको थियो ।  

घाईते कर्णबहादुर सार्कीको अवस्था हेरौं र मनन गरौं  कि त्यस्ता निला डाम र रक्ताम्मे उनलार्ई लडेर घाईते भएको हो भनियो भने गरिव विपन्नले अव न्याय पाउँलान ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!