गुल्मीका प्रगतिशिल लेखक केसीको दुर्घनामा परी निधन

Posted on: 17 Jul, 2017


 प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनामा परी निधन भएको छ । 

के.सी.लाई आइतबार साँझ ८ बजेतिर लु १० प २३१९ नं. को स्कूटरमा बुटवलदेखि पूर्वतर्फ जाँदै गर्दा देवदह न.पा.–१० गणेश प्रतीक्षालय नजिक पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८६२ नं. को बसले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । 

गम्भीर घाइते के.सी. लाई लुम्बिनी अञ्चल अस्पतालले उपचारको लागि युनिभर्सल मेडिकल कलेज रिफर गरेकोमा मेडिकल कलेजमा उपचारको क्रममा उनको सोमबार बिहान ४ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

दुर्घटनामा छातीमा गम्भीर चोट लागेपछि शरीरको भित्री भागमा रगत जमेकाले के.सी.को निधन भएको अस्पतालले जनाएको उपचारको क्रममा संगै रहेका स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीले बताए । गम्भीर घाइते के.सी.ले नै सुरक्षाकर्मीलाई कार्कीको फोन नं. बताएर बोलाउन लगाएको कार्कीले बताए । 

गुल्मीको कुर्घा गाविसमा वि.स. २०१६ सालमा जन्मेका के.सी. परिवारसहित तिलोत्तमा न.पा. ८ दीपनगरमा बस्दै आएका थिए । स्व. के.सी.को सोमबार देवदहको रोहिणीघाटमा दाहसंस्कार गरिएको छ । के.सी.को पार्थिव शरीरमा मालेमा अध्ययन केन्द्रका प्रवक्ता बिनबहादुर कुँवरले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी., वरिष्ठ साहित्यकार दिल साहनी, वरिष्ठ अधिवक्ता तेजप्रसाद कणेल, सिद्धार्थ पब्लिकेशन प्रा.लि.का अध्यक्ष एम.बी. विश्वकर्मा लगायत सहभागी थिए । कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे, मालेका अध्ययन केन्द्रका विनबहादुर कु“वर, नागरिक अभियानका पदमबहादुर कार्की लगायतले बोल्दै के.सी.को निधनले वाम आन्दोलनमा अपूरणीय क्षति पु¥याएको बताएका थिए । 

मालेमा अध्ययन केन्द्रको हाल कार्यबाहक अध्यक्ष रहेका के.सी. वि. स. २०३२ सालदेखि नेकपा मसाल हुँदै राजनीतिमा सक्रिय भएका हुन् । के.सी. २०४८ सालपछि डा. बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसालको केन्द्रीय सदस्य हुँदै पछि एकता केन्द्रको केन्द्रीय सदस्य समेत रहेर काम गरेको उनका राजनीतिक सहकर्मी बिनबहादुर कुँवरले बताए । उनी स्वाधीनताका लागि नागरिक अभियानका महासचिव समेत रहेका थिए । स्व के.सी. का श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!