अपाङ्ग दलित कुट्ने वडाध्यक्ष १३ हजार तिरेर रिहा

Posted on: 21 Jul, 2017


प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका एमालेबाट निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेका थिए ।

त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको छलफलमा ठुलो समुहले दलित भएर दलितको ठाउँमा बस्नु प¥यो , मुख सम्हाल्नु प¥यो भनेर हप्काएको र पिटाई खाने दलितले बढि बोलेको भन्दै माफी समेत मगाएको बुझिएको छ ।

छलफलमा सहभागी एक दलित अगुवाले भने –‘ घाईते बिक गाउँमा अरु संग पनि बढि बोल्ने गरेको आवाज लिएर धेरै जना ओईरिएका थिए , नव निर्वाचित वडाध्क्षको पार्टी विरुद्ध चुनावताका पनि नारावाजी गरेको भन्ने सुनियो, मुख सम्हाल्नु पर्ने दवाव पनि बढि आयो त्यसैले कुटपिट पछि उनि वुटवल सम्म जातेआते गरेको र उपचार खर्च जोडेर १३ हजार ७ सय १० पिडित लाई दिलाउने र एक महिना पछि थप उपचारको जिम्मा समेत वडाध्यक्ष पुनले लिनु पर्ने सहमति गरिएको हो, ठुलो समुहका सामु हाम्रो केहि लागेन् ।’

यस सम्वन्धमा जिज्ञाषा राख्दा चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले त्यस्तो सहमति भएको तर मिलापत्र अझै नभएको बताए । पिडित बिकले पनि अव बढि नबोल्ने, पिडक वडाध्यक्षले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमयाचन गरेको उनले बताए ।

यस घटनाका सम्वन्धमा त्यस भेगका दलितहरुले चिन्ता व्यक्त गरेका छन् । 

अव आफैले जिताएका वडाध्यक्षले नै दलितहरुलाई कुटपिट गर्ने र पैसा तिरेर उम्कीने हो भने अरु सर्वसाधरणबाट कुटिदा त झन गुहार नै नपाउने हो कि भन्ने चिन्दा बढेको त्यहाँका दलितहरुको चिन्ता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!