कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता

Posted on: 21 Jul, 2017

साउन ६, हेटौंडा । कैलाश गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

सामुदायी सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा कैलाश गाउँपालिकामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले गाँजा,अफिम लगायत अबैध लागूऔषध खेतीलाई निरुत्साहित गर्न गाउँपालिकाले अभियान सञ्चालन गर्ने बताउनुभयो । त्यसको लागि नयाँ आर्थिक वर्षको बजेटमा समेत विषेश कार्यक्रम राखिने उहाँले बताउनुभयो । विकास र अन्य आर्थिक स्रोतको अभावमा यस क्षेत्रका जनता लागूऔषध खेती गर्न बाध्य रहेको लामाको भनाई छ । उहाँले भरियाको रुपमा ब्यापारीले प्रयोग गरेको सबैभन्दा बढि यसै क्षेत्रका युवाहरु कारागारमा रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले लागूऔषध खेती गैह्र कानूनी भन्ने थाहा भएपनि आर्थिक प्रलोभनमा यस क्षेत्रमा खेती नरोकिएको बताउनुभयो । लागूऔषध मुक्त गाउँपालिका निर्माणको लागि प्रहरी प्रशासनले जनशक्ति परिचालनदेखि सचेतना कार्यक्रमहरुमा सहयोग गर्ने बताउनुभयो ।

वडा अध्यक्षहरुले आफ्नो वडामा लागूऔषध,दुब्र्यसनी र अपराध न्युनिकरणको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टल प्रहरी प्रशासन र समुदाय मिलेर काम गर्न सके अपराध नियन्त्रणमा धेरै सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कैलाश गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ,समुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल,निवर्तमा अध्यक्ष कुमार पौडेल,संस्थापक सचिव श्यामकृष्ण खतिवडा,कोषाध्यक्ष राम प्रसाद कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!