जुम्लाका स्थानीय तहमा १ सय ७० कर्मचारी खटिए

Posted on: 27 Jul, 2017

सास/साउन १२, जुम्ला । जुम्लाका १ सय ७० जना कर्मचारी स्थानीय तहमा खटिएका छन् । 

स्थानीय तहमा कर्मचारी व्यवस्थापन अन्र्तगत जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत १ सय ७० जना कर्मचारीलाई स्थानीय तहमा खटाइएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका सरकारी कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय तहबाट नै उपलब्ध गराउने लक्ष्य अनुसार उदेश्य हासिल गर्न स्थानीय तहमा कर्मचारी खटाइएको छ । 

जिल्ला स्थित कार्यालयको सेवामा प्रभाव नपर्ने गरी विभिन्न पदमा कार्यरत १ सय ७० जना कर्मचारीलाई जिल्लाका ८ वटा स्थानीय तहमा खटाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिनुभयो । 

जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत अधिकृत सो सरहका कर्मचारीहरु, नायव सुब्बा, खरिदार, कृषि तथा भेटेनरी प्राविधिकहरु र कार्यालय सहयोगीलाई स्थानीय तहमा हाजिर हुन खटाइएको छ । 

कर्मचारी व्यवस्थापन समितिका अनुसार कर्मचारीहरुबाट निवेदन संकलन गरी सकेसम्म उनिहरुले नै जान चाहेको स्थानीय तहमा कर्मचारी परिचालन गरीएको छ । जसमा चन्दननाथ नगरपालिकामा ४६ जना कर्मचारी खटिएका छन् । 

त्यस्तै हिमा गाँउपालिकामा ११, सिंजा गाँउपालिकामा १४, कनकासुन्दरी गाँउपालिकामा १३, पातारासि गाँउपालिकामा २२, गुठिचौर गाँउपालिकामा २१, तातोपानि गाँउपालिकामा २७ र तिला गाँउपालिकामा १६ जना कर्मचारी खटाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!