मनाङमा यर्तुङ्ग मेला शुरु

Posted on: 28 Jul, 2017

साउन १३, मनाङ । हिमालपारिको जिल्ला मनाङमा यर्तुङ्ग पर्व अर्थात् घोडाचडी पर्व शुरु भएको छ ।

बर्खाको याम सकिएपछि साउनको दोस्रो सातामा र खेती भित्र्याएपछि कात्तिक मसान्तदेखि मङ्सिरको शुरुमा 'ने' नामले मनाइने चलन छ ।

यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको पाइन्छ । यो पर्व कम्तीमा ५ दिनसम्म निरन्तर रहन्छ । शुरुको दिनमा गाउँका सबैजना भेला भई आ–आफ्ना घोडा लिएर गुम्बा जान्छन् । गुम्बामा पूजापाठ सकेपछि घोडादौड शुरु गर्ने परम्परा रहिआएको छ । यसरी घोडा दौडाइँदा प्रथम हुने घोडा निकै महँगो मुल्यमा किनबेच हुने गर्दछ । 

यस पर्वमा मनाङवासी आफ्नो परम्परागत वेशभूषामा सजिएर परम्परागत रुपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । यसरी पर्व मनाउँदा यहाँका मानिसमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने धार्मिक किंवदन्ती रहेको छ । 

यसको अर्काे पक्ष के छ भने गाउँमा काम सकेर फुर्सदको समयमा सबै भेला भई मनोरञ्जन गरी गाउँका गतिविधिका बारेमा छलफल गर्ने माध्यमका रुपमा पनि यो पर्व मनाइने प्रचलन रहेको पाइन्छ । यस समयमा जिल्लाबाहिर रहेका मनाङेहरुले पनि एक ठाउँमा भेला भई यर्तुङ मनाउने गर्दछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!