तेह्रथुमका पहिरो पीडितलाई राहत हस्तान्तरण

Posted on: 29 Jul, 2017

साउन १४, तेह्रथुम । कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ । 

सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले रु २० हजार राहतस्वरुप प्रदान गर्नुभएको हो । सदरमुकाम म्याङ्लुङमा पोखरेलले पहिरोपीडित परिवारलाई पठाएको सहयोग रकम रु २० हजार प्रजिअ वेदनिधि खनालले पीडित सोदेम्बाको परिवारलाई हस्तान्तरण गर्नुभयो । 

प्रजिअ खनालले उद्धार समितिले पीडित परिवारलाई राहत, क्षतिपूर्ति र काजकिरिया खर्चबापत एकमुष्ट रकम उपलब्ध गराइएको बताउनुभयो । गत असार १७ गते घरमाथिको कुलो थुनिएर पहिरो जाँदा सोदेम्बाको घर पुरिएको थियो । पहिराले सोदेम्बाका आमा ५० वर्षीया कुमारी, छोरी १२ वर्षीया प्रीति र छोरा नौवर्षीय प्रेमको ज्यान गएको थियो । 

घर पुरिँदा घाइते भएका ३६ वर्षीय सोदेम्बा उपचाररत छन् । मंगलबार मात्रै उनकी छोरी प्रियाको हातको शल्यक्रिया भएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

घरसहित परिवारका सदस्य नै गुमाएका सोदेम्बाको परिवार अर्थ अभावले पिल्सिरहेको छ । उहाँको परिवारको पीडा शान्त पार्न आफूले सहयोग गरेको जिल्लाकै सोल्मा घर भई हाल अष्ट्रेलियामा कार्यरत पोखरेलले बताउनुभयो । पीडित परिवारले भने सरकारबाट तर्फबाट आफूले पाउने राहतसमेत पाउन ढिलाइ भएकामा गुनासो गरेको छ । परिवारका खातामा राहत रकम जम्मा भइसके पनि झिक्न नपाएको सोदेम्बाले गुनासो गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!