बाजुराको बडीमालिका नगरमा आठ कार्यविधि पारित

Posted on: 30 Jul, 2017

साउन १५, बाजुरा । दोस्रो चरणको स्थानीय निकायको निर्वाचन सकिएको एक महिनापछि बडीमालिका नगरपालिकामा बसेको पहिलो बैठकले २० वठा निर्णय गरेको बडीमालिका नगरपालिकाको कार्यालयले जनाएको छ । 

शनिबार बसेको बैठकले आठ कार्यविधि र नियमावली पारित गरेको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले जानकारी दिनुभयो । नगरको विकासका लागि प्रस्तुत प्रस्तावलाई बैठकले पारित गरेको हो । बैठकले मतदाता निर्वाचन कार्यमा सहयोग गर्नेहरुमा धन्यवाद ज्ञापन गरिएको बडीमालिका नगरपालिका कार्यकारी अधिकृत त्रिलोक चन्दले जानकारी दिनुभएको छ । 

पहिलो बैठकले आठ कार्यविधिमध्ये बडीमालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली, बैठक कार्य सञ्चालन कार्यविधि, नगरसभा सञ्चालन कार्यविधि, नगरपालिका पदाधिकारी आचारसंहिता र आदेश अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली २०७४ पारित गरेको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । 

बैठकबाट नगरसमिति गठन गर्ने र संयोजक तोक्ने निर्णय गरिएको छ । नगरपालिकाका प्रत्येक वडामा वडा कार्यालय स्थापना गर्ने, विषयगत शाखा कार्यालय खोल्ने, काठेपुल, दैवीप्रकोप राहत तथा विविध, नगर, वडा र केन्द्रसँगको सडक सञ्जाल विस्तार योजना, बिपी जीवनस्तर सुधार कार्यक्रम, युगानुकूल शिक्षा, मोबाइल स्वास्थ्य कार्यक्रम, समाज सुधार कार्यक्रम, सफा नगरी कार्यक्रम, जनमैत्री प्रशासन जनताको शासन कार्यक्रम र गन्तव्य बडीमालिका योजना पारित गरिएको हो । 

बैठकले छ सदस्यीय विभिन्न उपसमिति पनि गठन गरेको छ जसमा सार्वजनिक सेवा तथा क्षमता विकास समितिमा कर्ण बोगटी, आर्थिक विकास समिति जीत नेपाली, सामाजिक विकास समिति कविता विष्ट, पूर्वाधार विकास समिति जयन्ती हमाल, वातावरण विपद् व्यवस्थापन समिति जमना रावल र विधेयक समितिमा हर्क ल्वार रहनुभएको छ । 

नगरपालिकाको पहिलो बैठकमा नै नेकपा (एमाले)का निर्वाचित पदाधिकारीले केही बुँदामा असहमति जनाएको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!