आफ्नै छोरी हत्या गरि जङ्गलमा फालेको आरोपमा बाबुछोरा पक्राउ

Posted on: 31 Jul, 2017

सरोज यादव/साउन १६, महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ ।

बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ ।

गत साउन ७ गते मृतक सन्तोलियालाई उनकै बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोले मुख थुनेर घाँटीमा सलको पासो लगाई हत्या गरी सोही जंगलको एक खोल्सीमा फालेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ ।

सर्लाही हरिवन नगरपालिका–५ माइती रहेको मृतककी श्रीमान् विगत केही दिन वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका छन् ।

श्रीमान् घरमा नरहेको समयमा सन्तोलियाले बाहिर अनैतिक सम्बन्ध स्थापित गर्दै आएको र सो सम्बन्धमा परिवारले जति सम्झाउँदा पनि नमानेपछि दाजु र बुबाले नै हत्या गरेको प्रहरीले पाँच दिनको लामो अनुसन्धानपछि पत्ता लगाएको प्रहरी नायब उपरीक्षक दिपक पोखरेलले बताउनुभयो ।

हरिवन नगरपालिका–५ माइती घर भएकी सन्तोलिया कुमारीको विवाह समाजिक परम्पराअनुसार २०६९ सालमा गौशाला नगरपालिका–२ का विक्रम महतोसँग भएको थियो । 

मृतकको शव दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको छ भने मृतकको बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोलाई शनिबार इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएका छन् ।

दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सन्तोलियाको शव साउन १० गते बीच जंगलमा किरा परेको र सडेको अवस्थामा फेला परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!