डडेल्धुराका स्थानीय तहबाट मतदाता नामावली संकलनको कार्य सुरु

Posted on: 31 Jul, 2017

साउन १६, डडेल्धुरा । देशभरी जस्तै डडेल्धुराका स्थानीय तहका केन्द्रबाट आजदेखि मतदाता नामावली संकलनको कार्य शुरु भएको छ ।

 निर्वाचन आयोगको निर्णय अनुसार आजदेखि ७ ओटै स्थानीय तहमा दर्ता कर्मचारी खटाइसकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

 अगरगढी नगरपालिकाको जिल्ला निर्वाचन कार्यालयमै फोटो सहित मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिएका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नामदर्ता शुरु गरिएको नायकले जानकारी दिएका छन् ।

 यही साउन १ गतदेखि साउन १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गरेकोमा आजदेखि स्थानीय तहका केन्द्रबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य शुरु भएको हो । स्थानीय तहमा आजदेखी सुरु भएको नाम दर्ता साउन ३२ गते सम्म संचालन हुनेछ ।

 फोटो सहितको मतदाता नामावलीमा नामदर्ता गराउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयं व्यक्ति दर्तास्थलमा उपस्थित भई नाम दर्ता गराउन जिल्ला निर्वाचन अधिकारी नायकले आग्रह गरेका छन् ।

 मतदाता नामावलीमा त्रुटी भएकाहरुले पनि नामावली सच्याउनका लागि निवेदन दिन सक्ने निर्वाचन कार्यालयले जनाएको छ । यही साउन १ गतदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा ८१९ पुरुष र ७७१ महिला गरि १ हजार ५ सय ८० जनाले नामावलीमा नामदर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 यसअघि स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा ७५ हजार ६८० जनाको मतदाता नामावलीमा नाम रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!