शिक्षक नारायण पौडेलको ‘हत्या’ मुद्दाका आरोपीहरु धरौटीमा रिहा

Posted on: 03 Aug, 2017

पर्वत /पर्वतको कुस्मा नगरपालिका –९ कटुवाचौपारी स्थित आइबल एकेडेमीमा कार्यरत शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको आरोपमा छानबिनका लागि पक्राउ परेका अभियुक्तहरु धरौटीमा रिहा भएका छन ।

शिक्षक पौडेलको हत्या अभियोगमा छानबिनका लागि प्रहरीले नियन्त्रणमा राखेका ५ जना अभियुक्तहरु बागलुङ्ग जिल्ला अदालतको आदेशमा बुधबार धरौटीमा रिहा भएका हुन ।

धरौटीमा रिहा हुनेमा पर्वतको कुस्मा नगरपालिका वडा नं ९ का चन्द्रमान श्रेष्ठ, देउकुमार श्रेष्ठ, जयनारायण श्रेष्ठ, वडा नं १० घर भई बिद्यालयका प्रिन्सीपल बिमल पौडेल र सोही ठाउँ घर भै बिद्यालयमा कार्यरत कार्यालय सहयोगी मञ्जु पुरी रहेका छन ।

अदालतले पुरीलाई १० हजार र अन्य अभियुक्तहरुलाई जनही १, १ लाख धरौटीमा रिहा गरेको हो । अदालतले मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) अनुसार धरौटीमा रिहा गरेको अदालतले जानकारी दिएको छ ।

पर्वतको कुस्मा नगरपालिका –१ पाङ्ग घर भएका शिक्षक पौडेल गत जेठ २५ गतेदेखि बेपत्ता बनेका थिए । उनको शब १५ दिन पछि वाग्लुङ जिल्लाको जैमुनि गाउँपालिका ८, बेलवगर स्थित कालिगण्डकी नदी किनारमा फेला परेको थियो । मृतक पौडेलको पोष्टमार्टम रिपोर्टमा घाँटीमा जोडपूर्वक लागेको धारिलो बस्तुको चोटबाट मृत्यू भएको उल्लेख थियो । प्रहरी अनुसन्धानका क्रममा हत्या भएको घटनास्थल र पात्र फेला पार्न नसकेको देखिएको छ ।

पर्वत प्रहरीले लामो छानबिनबाट पर्वतमा घटना घटेको कुनै प्रमाण फेला पार्न नसकेको भन्दै लास भेटिएको स्थल बागलुङ्गमा नै अनुसन्धान गर्न मिसिल बागलुङ्ग पठाएको थियो । पौडेलको शव वाग्लुङ जिल्लामा भेटिएकोले अनुसन्धानका लागि पठाएपनि बागलुङ्ग प्रहरी पनि घटनाको सफल अनुसन्धान गर्नबाट चुकेको आरोप आफन्तले लगाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!