‘दुःखीलाई सुख, निःसन्तानलाई सन्तान, गरिबलाई धन’

Posted on: 06 Aug, 2017


साउन २२, बाजुरा । यहाँका चार शक्तिका रुपमा रहेका धार्मिक क्षेत्रमा आजदेखि पूजा सुरु भएको छ । 

ठूला शक्तिका रुपमा रहेका बडिमालिका र बूढीनन्दाबाहेक जिल्लाका बढालेक, शाहिमाण्डाँै, भवानीमाण्डौँ, दुनालेखलगायत क्षेत्रमा आज पूजा सुरु भएको हो । 

ती क्षेत्रमा भव्य मेला लाग्ने र हजारौँ दर्शनार्थीको भीड लाग्छ । बडिमालिका र बूढीनन्दा तीर्थयात्रा भने बिहीबारदेखि सुरु भएको छ । मेलाको तीन दिनपूर्व हिँड्नुपर्ने मान्यतानुसार यात्रा औपचारिक रुपमा बिहीबारदेखि सुरु भएको हो । पुजारीसहित नेपाल प्रहरीको टोली बुधबार नै गन्तव्यमा हिँडिसकेको छ भने जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहित नेपाली सेना तीर्थ यात्रु बिहीबार हिँडेको सहायक प्रजिअ खगेन्द्र मल्लले जानकारी दिनुभयो । 

डोटी, हुम्ला र जुम्ला जिल्लाका प्रतिनिधि वा भक्तजनले अनिवार्य आठ दिन पूजा लगाउनुपर्ने मान्यता छ । पशुपतिनाथ मन्दिरबाट आएको सुनको सिक्री पूजा सामानलगायत सबै पुजारीको हातमा आइसकेको बताइएको छ । बूढीनन्दा यात्रा पनि बिहीबारदेखि सुरु भएको छ । तीर्थालुले चोखो तेलमा मात्र पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन व्रत बस्ने र भगवतीकै ध्यान गर्छन् । यसो गर्दा ‘दुःखीलाई सुख, निःसन्तानलाई सन्तान, अनि गरिबलाई धन’ लाभ हुने धार्मिक विश्वास छ । 

जनैपूर्णिमाको अवसर पारी चतुदर्शीका दिन जिल्लामा दर्जन बढी शक्तिपीठको पूजा गरिन्छ तर यस वर्ष चन्द्र ग्रहण पर्ने हुँदा रक्षा बन्धन र जनैपूर्णिमा साउन १३ गते नै मनाइएको छ । 

सबै स्थानमा सत्यदेवीको अंग खसेको धार्मिक मान्यता र आस्था रहिआएको छ । भारतको कुमाउ गढवालदेखि नेपाल सरकारबाटै आधिकारिक पूजा सामग्री मालिकामाताको लागि आउने गरेको छ । अछामको बैजनाथबाट धानका सिरौँला ल्याएर देवीलाई चढाउने चलन छ । 

दुवै शक्तिपीठले धार्मिक र पर्यटकीय सम्भावना बोकेका छन् । यस स्थानमा जानेले तिनलाई स्वर्गको अर्को उपमा दिने गरेका छन् । त्रिवेणी, २२ पाटन, खेतीवेती राक्षस र देवीबीचको लडाइँस्थल आदि बडिमालिका क्षेत्रका आकर्षण हुन् । 

बूढीनन्दामा तिलिचोपछिको विश्वकै उचाइमा रहेका आधादर्जन ताल र चट्टानसँगै जोडिएका आकर्षक झरनाले मन लोभ्याउने गरेको छ । बडिमालिका माईको दर्शन गर्नाले मनले मागेको कुरा पूरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मिक विश्वास छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!