गुफा बस्ने धामी झाँक्री सम्मानित

Posted on: 09 Aug, 2017

साउन २५, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा स्थानीयको धार्मिक मान्यता अनुसार रातभर गुफा बसेर पुजाआजामा संलग्न धामी झाँक्रीलाई सम्मान गरिएको छ । 

परापुर्व कालदेखि पुजाआजा गर्दै आएको मार्गा पोखरीमा यहाँका धामी झाँक्रीले पुर्णिमाको अघिल्लो रात जाग्राम बसी पुजा गर्ने चलन छ । 

सोही परम्परालाई निरन्तरता दिँदै हरेक वर्षको भदौरे पुर्णिमाको आसपास धार्मिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित मेला लाग्ने गरेको छ । 

सोही मेलाको अवसरमा यो वर्षपनि सोमबार राति जाग्राम बसेका धामी झाँक्रीहरुलाई मेला आयोजक रत्नदेवी युवा सेवा समाजले सम्मान गरेको हो । 

धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपुर्ण मार्गा पोखरीको प्रचार प्रसारका लागि पनि मेला लगाउन थालिएको स्थानीय युवा बताउँछन् । पोखरीको धार्मिक महत्वलाई उचाईमा पु¥याउँदै पर्यटकहरुलाई आकर्षण गर्न मेला आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष अनिल आँखेवाले बताए । मेलाकै अवसरमा परम्परा जोगाउने धामी झाँक्रीहरुलाई पनि सम्मान गरिएको उनले बताए । 

आध्यात्मिक ज्ञान आर्जन गर्ने उदेश्यका साथ भदौरे पुर्णिमाका दिन पहिलो रात गुफा बस्ने, र भोलिपल्ट स्थानीय रत्नदेवी थानमा पुजाआजा गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको स्थानीय धामी कान्छाबहादुर लिम्बुले बताए । 

यो बेला धामीहरुले १० दिनदेखि निरन्तर कुल पुजा गर्ने गरेका छन् । पुर्णिमाका दिन धामीहरुले मौलिक नाच देखाएर स्थानीयलाई मनोरन्जन समेत दिने गरेका छन् । 

यो वर्ष उक्त अवसरमा आयोजित मेलामा पुरुष भलिबल प्रतियोगिता, खुला लोक नृत्य प्रतियोगिता समेत गरिएको अध्यक्ष आँखेवाले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!