घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा

Posted on: 09 Aug, 2017

साउन २५, तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन् । 

सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन् । नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो तान्न थालेको छ । 

खहरेखोलामा समेत पानीको बहाव बढेको छ । बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम्तीचोक र बतासेका बासिन्दाको दुई दिनदेखि निद्रा हराएको छ । चार परिवार भने घर छाडेर छिमेकीको घरमा बसिरहेका स्थानीयवासी नरेन्द्र खापुङले जानकारी दिनुभयो । 

‘पहिरोले घर बगाउने डर भएपछि घुम्तीचोकका चार परिवारले घर छाडेका छन्,’ उनले भने । मंगलबार यहाँका बासिन्दाले जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायत संघ संस्थालाई समेत पहिरोले गाउँ नै जोखिममा पारेको बारे जानकारी गराएका छन् । 

पहिराले गाउँनै जोखिममा पारेको भन्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । उहाँले सचेत भएर बस्न स्थानीयवासीलाई सूचना जारी गरेको बताउनुभयो । ‘ठूलो धन जनको क्षति नहोस् भनेर सतर्कता अपनाउन भनेको छु,’ प्रजिअ खनालले भन्नुभयो । 

पहिरोको जोखिम रहेको क्षेत्रको मेन्छ्यायेम गाउँपालिकाले समेत अनुगमन गरी सचेत रहन भनेको छ । “जुनसुकै बेला पनि पहिरोले गाउँलाई तान्नसक्ने देखिएपछि सचेत रहन भनेको मेन्छ्यायेम गाउँपालिका–६ का वडाध्यक्ष प्रदीप बुढाथोकीले भन्नुभयो,” । घुम्तीचोक भएर जिरीखिम्तीदेखि मोराहाङ, श्रीजुङ, पौठाकबाट सम्दु जोडिने सडक निर्माण भइरहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!