जाग्री हत्याकाण्डको अनुसन्धानका लागि प्रहरीले कुकुरको प्रयोग गर्ने

Posted on: 12 Aug, 2017

साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुकुरको प्रयोग गर्ने जनाएको छ । 

घटनाको विषयमा रेडियो बेलौरीसंग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले घटना बिभत्स तरिकाले घटेको उल्लेख गर्दै प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्याम्पसको क्यान्टिनका कारिगरसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । तर उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।  

उक्त घटनाको थप अनुसन्धानका लागि नेपालगञ्ज स्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट कुकुर मगाएको एसपि चन्दले बताउनु भयो । घटनाको विरोधमा विभिन्न राजनीतिक दलका पार्टी पङ्ती तथा विद्यार्थी संगठन एवं संघसंस्थाहरुले समेत खेद प्रकट गरेका छन् । उक्त क्याम्पसका विद्यार्थी तथा अन्य क्षेत्रका विद्यार्थी संगठनहरुले समेत घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत बझाङ्गको सैनम बसेला गाउँपालिकाका २३ वर्षीय डम्बर बहादुर जाग्रीका आज बिहान ८ बजेतिर क्याम्पसको होस्टेल भित्रै हत्या भएको थियो । 

होस्टेलको तल्लो तलाको स्टोर कोठामा घाँटी काटिएको अवस्थामा जाग्रीको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा चक्कु फेला परेको थियो । 

बझाङ्ग घर भई विगत ४ वर्षदेखि सिद्धनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका जाग्री सिद्धनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष रहेको र उनलाई चारदिन अघि बसेको बैठकले अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजकको जिम्मेवारी पनि दिइएको बुझिएको छ । -हरिश चन्द्र बागको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!