कलाकार धुर्मुसद्वारा बाढीपिडितलाई राहत वितरण

Posted on: 14 Aug, 2017


साउन ३०, बर्दिवास । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गर्नुभएको छ । 

आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गर्नुभएको हो । 

पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार बिहान बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै आएको बेला पाइएको राहतले बाँच्ने आशा पलाएको बताएका छन् । चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक÷एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपिडितलाई दिनुभएको सो बस्तीका जुगल सादा मुसहरले बताउनुभयो । 

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका हास्यकलाकार धुर्मुसले आपत् परेका बेला तत्काल मलहम लगाउन आपूm केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताउनुभएको थियो । 

राहत वितरणसँगै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बाढीपिडित परिवारका सबैको स्वास्थ्य जाँच गरी औषधि वितरण गर्नुभएको थियो । 

गत शनिबार सो बस्तीमा पसेको रातु र बडहरि नदीको बाढीले मुसहर बस्ती डुबाएसँगै चारवटा घर लडाएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!