बनेपामा एकै परिवारका चारको मृत्युः हत्या नभर्इ आत्महत्या

Posted on: 14 Aug, 2017


साउन ३०, बनेपा । आफ्नै घरमा मृत भेटिएका एकै परिवारका चार जनाको हत्या नभर्इ आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएका छन् ।

काभ्रेका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको तर, विस्तृत विवरणका लागि भिसेरा रिर्पोट पर्खनुपर्ने बताए । शवको परीक्षण लगत्तै ललितपुरस्थित विधिविज्ञान प्रयोगशाला, खुमलटारमा भिसेरा परीक्षण गर्न लागिएको र अबको केही दिनमै त्यसको प्रतिवेदन आउने उनले बताए ।

भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएका हुन् ? हरेकले कुन समयमा खाए ? एकै पटक खाएको हो वा हैन ? भन्ने विस्तृत विवरण प्राप्त हुनेछ । काभ्रेका प्रहरी उपरीक्षक थापाले भने, ‘अहिलेसम्मको प्रहरी अनुसन्धानले हत्या भएको देखिँदैन ।’

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल साउन ६ गते मृत अवस्थामा फेला परेका थिए ।

तर, स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ ।

मृत फेला परेका बुबाआमा, छोरा र छोरी हुन् । शव रहेको कोठाको भित्रबाट ताल्चा लगाइएको र सेल्फस नामक विषादीको शिशी प्रहरीले घटनास्थलबाट फेला पारेको थियो । घटनाको थप अनुसन्धान अपराध अनुसन्धान ब्यूरोले गर्दैछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!