पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा तेह्रथुमको जनजीवन कष्टकर

Posted on: 15 Aug, 2017

साउन ३१, तेह्रथुम । पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा पहाडी जिल्ला तेह्रथुम सहित पुर्वको जनजीवन कष्टकर बनेको छ । निरन्तर वर्षासँगै दुहवी स्टेशनबाटै विद्युत अवरुद्ध भएपछि पुर्वी पहाडी जिल्ला तेह्रथुमको जनजीवन कष्टकर बनेको हो । 

सदरमुकाम म्याङलुङ सहित बसन्तपुर, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ लगायत बजारमा सन्चालित उद्योग, व्यवसाय तथा बैंकहरुको सेवा ठप्प भएको छ । विद्युत नहुँदा उद्योगी व्यापारी प्रत्यक्ष नोक्सानमा परेका छन् भने जिल्लाबासीको जनजीवन कष्टप्रद बनेको छ । यहाँ सन्चालित तीन वटा रेडियोमध्ये दुई वटाले चार दिनदेखि ठप्प छन् भने रेडियो मेन्छ्यायेमले प्रशारण समय छोट्याएर सेवा दिइरहेको छ । 

बाढीले क्षति गरेपछि मर्मत गर्न ढिलाई हुँदा तथा बाटो बाटोमा भत्किएको जडानलाई मर्मत गर्न समय लागेकाले विद्युत लामो समयसम्म अवरुद्ध भएको प्राधिकरणको तेह्रथुम वितरण केन्द्रले जनाएको छ । 

छिमेकी जिल्लाहरु धनकुटा, संखुवासभा, भोजपुर, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा पनि निरन्तर विद्युत अवरुद्ध छ । स्थानीयले अन्धकारमा रात कटाउन बाध्य बनेका छन् । मोवाइल समेत चार्ज नहुँदा सूचना र सन्चार सम्पर्क समेत विच्छेद भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!