पूर्वाञ्चलमा बाढी पहिरोका कारण ४७ जनाको मृत्यु

Posted on: 16 Aug, 2017

साउन ३२, विराटनगर । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४७ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । 

आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

त्यस्तै, बाढी पहिरोमा परेर पाँचथरमा तीनजना, झापामा दुईजना, मोरङमा चारजना, सप्तरीमा एक गरी १५ जना बेपत्ता रहेको छ, भने बाढी पहिरोमा परेर मोरङमा तीनजना र सप्तरी र सुनसरीमा एक÷एक जना घाइते भएका छन् । 

बाढी पहिरोका कारण ती जिल्लामा ३८९ वटा घर पूर्णरुपले क्षति भएको, ३६३ वटा चौंपाया र दुई हजार २७५ वटा हाँस, कुखुरा मरेको सो कार्यालयले जनाएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पूर्वक्षेत्रीय तालीम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दङ्गा नियन्त्रण प्रहरी गणका साथै सम्बन्धित जिल्ला र स्थानीय प्रहरी इकाइ गरी चार हजार पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । 

विस्थापित परिवारलाई स्थानीय विद्यालय, मन्दिर र सङ्घसंस्थाको सार्वजनिक भवन राखिएको पीडित परिवारलाई स्थानीय समाजसेवी र विभिन्न सङ्घसंस्थाबाट राहत वितरणलगायतका कार्य भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!