बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

Posted on: 24 Aug, 2017

राकेशकुमार मिश्र। भदौ ८, खजुरा बाँके । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गर्ल्यामगुर्लुम ढलेदेखि उहाँलाई सन्चो छैन । 

बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । भाइरल ज्वरोले समातेपछि उहाँले खानासमेत खानुभएन । 

पानी तताउने र तातो भात तथा जाउलो पकाउने ठाउँ समेत छैन उहाँको घरमा । तरकारी र अन्नपात बाढीले बगाएका कारण उहाँको परिवारले बिहान मात्र खाना पकाउँछ । ूखान पाएपनि भात र तरकारी चिसो हुन्छ,ू समिरले भन्नुभयो, ूचाउचाउ बिस्कुट खाँदाखाँदा वाक्क लागिसक्यो ।ू 

उहाँको किताब, कापी र कलम ढलेको घरमै पुरिएको छ । किताब, कापी घरमा पुरिएपछि उहाँ निराश हुनुहुन्छ । ूबिरामी भएर पढ्न जान पाएको छैन, किताव, कापी समेत घरमा पुरियो, अव के लिएर पढ्न जाने होला रुू उहाँले भन्नुभयो । 

राप्ती–सोनारी गाउँपालिका–६, मोहनपुरकी ममता शाही पनि एक हप्तादेखि विद्यालय जान पाउनुभएको छैन । उहाँ अध्ययनरत सरस्वती मावि पनेरियामा बाढीपीडितले आश्रयस्थल बनाएको र किताब, कापी लगायत शैक्षिक सामग्री विद्यालयले बगाएकाले उहाँले एक हप्तादेखि विद्यालय जान पाउनुभएको छैन । 

ूकिताब, कापी नदीले बगाएर लग्यो, बचेको पनि भिजेर काम नलाग्ने भएकाले विद्यालय जान सकेको छैन,ू ममताले भन्नुभयो । 

बाढी आएदेखि राप्ती–सोनारी गाउँपालिका–४, लालपुरका १३ वर्षीया लक्ष्मी चौधरीले विद्यालय जान पाउनुभएको छैन । उहाँ अध्ययनरत श्री भावना निमावि माहुमा बाढीपीडितले आश्रयस्थल बनाएर बसेकाले उहाँले पनि विद्यालय जान पाउनुभएको छैन । 

विद्यालय जान मन भएपनि उहाँसँग न त किताब न त लेख्ने कापी र कमल नै छ । ूकिताव, कापी जोगाउने प्रयास गरेको थिएँ, एक्कासी बाढी आएकाले केही गर्न सकिएन,ू लक्ष्मीले भन्नुभयो । 

बाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनीय बन्दै गएको मात्र हैन उनीहरु शिक्षा आर्जनको अवसरबाट समेत बन्चित हुनपुगेका छन् । बालबालिकामा रुघाखोकीले समात्ने, ज्वरो आउने, टाउको दुख्ने समस्या देखा परेको राप्ती–सोनारी गाउँपालिका–४ का वडा अध्यक्ष कान्छा चौधरीले बताउनुभयो । 

सिविन नेपाल नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बाढी प्रभावित बैजापुरका बालबालिकामा मानसिक असर देखिएको बताउनुभयो । उहाँका अनुसार बाढी पसेको, घर ढलेको र तहसनहस भएको देखेका बालबालिकामा डर कायमै रहेको छ । बालबालिकाको किताब, कापी बाढीले बगाएको र पानीले भिजेर पढ्न नमिल्ने भएको पाइएको उहाँले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ूबालबालिकाको अवस्था दयनीय छ । कतिपय भाइरल ज्वरोका कारण थलिएका छन् । उनीहरुले उपचार समेत पाएका छैनन् ।ू 

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका निर्देशक मुरारी प्रसाद खरेलले पनि बाँकेका बाढी प्रभावित क्षेत्रका बालबालिकाले समयमा खाना खान नपाएको र सुत्ने ठाउँ समेत नपाएको बताउनुभयो । 

बाढीले जिल्लाका १४ हजार ९९५ विद्यार्थीको पढाइ प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको बाढीले क्षति पु¥याएपछि ८१ वटा विद्यालयको पठनपाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार जिल्लाका २९ वटा विद्यालय आश्रयस्थलका रुपमा प्रयोग भएका छन् । उहाँले राप्ती–सोनारीका १८ वटा विद्यालयलाई बाढी पीडितले आश्रयस्थल बनाएको जानकारी दिनुभयो । 

सामुदायिक भवन नभएका कारण बाढीपीडितहरु सामुदायिक विद्यालयलाई आश्रयस्थलका रुपमा प्रयोग गरिरहेका छन् । ‘पठनपाठनभन्दा मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर आश्रयस्थलका रुपमा प्रयोग गर्न दिइएको छ,’ जिल्ला शिक्षा कार्यालय भन्छ । 

राप्ती–सोनारी गाउँपालिकामा ५२ विद्यालय छन् । सो गाउँपालिकाअन्तर्गत पर्ने विनौना स्रोत केन्द्रमा पर्ने बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका ९ हजार ८८१, कक्षा ६ देखि ८ सम्मका ३ हजार ६९८, कक्षा ९ देखि कक्षा १० का १ हजार ४०७ र कक्षा ११ देखि १२ का ६९ विद्यार्थीको पढाइ प्रभावित भएको थाहाभएको छ । 

स्रोत: रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!