सेनाद्वारा टुङ्ना गुफा जाने बाटो निर्माण

Posted on: 26 Aug, 2017

भदौ १०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग बजार नजिकै रहेको दशकते सामुदायिक बन परिषरमा रहेको ऐतिहासिक टुंङना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ । 

सेनाले ऐतिहासिक गुफा सम्म पुग्न र अवलोकन गर्न चाहनेहरुलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ । म्याङलुङ्ग स्थित नेपाली सेनाको ईन्द्रदल गुल्मका जवानहरुले त्यहाँ सम्म पुग्न सहज होस् भन्ने उदेश्यले बाटो निर्माण गरिदिएको गुल्मपति महेश्वर कार्कीले बताए । 

यसअघि स्थानीय राम तुम्बाहाङफेले निजी लगानीमा युवाहरु सहित टुंङना गुफा ओझेलमा रहेको भन्दै त्यहाँ सम्म पुग्नका लागि बाटो बनाउने काम थालेका थिए । 

गोरेटो बाटोमा ५५ जना बढी नेपाली सेना र स्थानीयबासीले श्रमदान गरेका थिए । म्याङलुङ्ग स्थित बसपार्क नजिकै रहेको हावा खाने बरदेखि ५ मिनेट पैदल हिडेपछि पुग्न सकिने ओडार हुदै हाङ्साम महादेब गुफा सम्म पुग्ने समेत बाटो निर्माण गरिएको छ । 

म्याङलुङ बजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो क्षेत्र राम्रो गन्तब्य बन्न सक्ने म्याङलुङ्ग–९ का वडासदस्य बाबुराम लिम्बुले बताए । उनका अनुसार यो क्षेत्रलाई पर्यटकीय स्थल बनाउनका लागि हालै सम्पन्न वडा परिषदमा समेत बजेट माग गरिएको छ । 

यसअघि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुले सिंहबाहीनी मंन्दिर, बाघकोरे मन्दिर, नागा ओढार, थलायक डाडाँ, र गढी यक डाडाँको भ्रमण तथा अबलोकन गर्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!