घुम्ती शिविरमार्फत १४ सय ९४ नागरिकता वितरण

Posted on: 28 Aug, 2017

भदौ १२, तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सबै स्थानीय तहका केन्द्रहरुमै पुगेर घुम्ती शिविरमार्फत करिब १५ सय जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले दुई सातासम्म जिल्लाका विभिन्न पाँच स्थानमा घुम्ती शिविरको आयोजना गर्दै १ हजार ४ सय ९४ जनालाई नागरिकता प्रमाण–पत्र प्रदान गरेको हो । 

नागरिकको घरदैलो मै पुगेर सरकारले प्रदान गर्ने आधारभूत सेवाहरु प्रदान गर्ने उदेश्य अनुरुप पछिल्ला दुई सातासम्म अभियानकै रुपमा घुम्ती शिविर सन्चालन गरी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकरीद्धय उमेश घिमिरे र जयप्रकाश बस्नेत सहित कर्मचारीहरुको टोलीले नगरपालिका र गाउँपालिकाका केन्द्रहरुमै पुगेर स्थानीयबासीलाई नागरिकता वितरण गरेको हो । 

टोलीले फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा ५ दिनसम्म घुम्ती शिविर राखेर ४ सय ५७ जनालाई नागरिकता वितरण गरेको छ । 

यस्तै छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा ३ दिने शिविरमार्फत ३ सय ११ जना र लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा २ दिने शिविरमार्फत ५ सय २६ जनालाई नागरिकता वितरण गरिएको सप्रजिअ घिमिरेले बताए । यस्तै मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा ३ दिने शिविरमार्फत २ सय जनालाई नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । 

वर्षाका कारण गाउँबाट सदरमुकाम जान आउन कठिन भइरहेको समयमा जिल्ला प्रशासन कार्यालय आफँै गाउँ आएर सेवा प्रदान गरेपछि गाउँबासी समेत खुसी भएका छन् । जिल्लाका सबै सडक दुई महिना यता वर्षाले क्षतिग्रस्त बनेपछि ठप्प बनेका छन् । 

स्थानीयबासीहरु सदरमुकाम र पुर्वी तराईसम्म यात्रा गर्न सास्ती बेहोर्न बाध्य छन् । प्रशासनले सन्चालन गरेको घुम्ती शिविरले दुर्गम गाउँका बासिन्दालाई भने निकै राहत मिलेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!