हुर्जाको अधिवेशनको तयारी पुरा, विभिन्न व्यक्ति तथा संस्था सम्मानित हुने

Posted on: 28 Aug, 2017

पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक्त सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको प्रमुख आतिथ्यतामा हुने साधारणसभामा हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पोखराकी पत्रकार स्मिता अधिकारीलाई प्रदान गर्ने कार्यक्रम रहेको महासचिव विरेन्द्र सापकोटाले बताउनुभयो ।

अधिकारको क्षेत्रमा विशेष कलम चलाउने पत्रकारलाई संस्थाले आफ्नो साधारणसभाको अवसरमा सम्मान गर्दै आएको र संस्थाका निवर्तमान अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीद्धारा स्थापित पुरस्कार यो पटक अधिकारीलाई दिन लागिएको हो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिस अनुसार यसपटक अधिकारीलाई पुरस्कृत गर्न लागिएको र पुरस्कार राशिमा पाँच हजार पाँच, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसअघि पत्रकार श्यामनाथ कुँवर हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ । सोही अवसरमा सञ्चार सम्मान पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकलाई र संस्थागत सम्मान लेखनाथमा रहेको परिवर्तन नेपाललाई सम्मानित गरिने कार्यक्रम रहेको कोषाध्यक्ष असफल गौतमले बताउनुभयो ।

सोमबार हुर्जा पश्चिमाञ्चलका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले साधारणसभामा महासचिव विरेन्द्र सापकोटाले प्रस्तुत गर्ने महासचिवको प्रतिवेदन र कोषाध्यक्ष असफल गौतमले प्रतिवेदन गर्ने आर्थिक प्रतिवेदन समेत सर्वसहमत रुपमा पारित गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!