सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

Posted on: 29 Aug, 2017

भदौ १३,सोलुखुम्बु । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । 

गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बीमा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

प्रमुख डा शेर्पाका अनुसार स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्न सोमबार जिल्लाका ५२ वटै वडाका लागि सहयोगी कार्यकर्ता भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । कर्मचारी छनोटपछि उनीहरुलाई तालिम दिएर कार्यक्षेत्रमा खटाइने जनाइएको छ । 

सरकारी स्वास्थ्य बीमाको सदस्यता लिएका परिवारका सदस्यले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने डाक्टर शेर्पाले बताउनुभयो । 

बहिरंग विभागको सेवादेखि ६६ प्रकारका रोगको निःशुल्क उपचार वा शल्यक्रिया गरिने र अन्य आवश्यक स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार हुने भएकाले कुनै पनि दुविधामा नपरी बीमा सदस्यता लिन कार्यालयले आग्रह गरेको छ । बीमा सदस्यता लिएको एक महिनापछि निःशुल्क उपचार सेवा लिन पाइनेछ । 

बीमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक रु दुई हजार ५०० ‘प्रिमियम’ बुझाएपछि रु ५० हजारसम्मको उपचार पाउनेछन् । एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले रु ४५० वार्षिक प्रिमियम बुझाएमा रु १० हजारको उपचार सेवा थप हुनेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!