भ्रष्टाचार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका

Posted on: 01 Sep, 2017

भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित विद्यार्थी अभिमुखीकरण कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि युवावर्गको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । 

भ्रष्टाचारले नेपाली समाज ग्रसित बनिरहेको बताउँदै कार्यक्रमका वक्ताले यसलाई समाजबाटै निर्मूल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले राज्यमा सुशासन कायम हुन नसक्दा भ्रष्टाचारयुक्त देशको सूचीमा नेपाल परेको बताउँदै विद्यार्थी तथा युवावर्ग यसको अन्त्यका लागि जागरुक बन्नुपर्ने बताउनुभयो । उहाँले जवाफदेहिता, पारदर्शिता, कानूनको शासन, उत्तरदायीपन आदिका माध्यमबाट भ्रष्टाचार न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समाजको तल्लो तहदेखि नै भ्रष्टाचार नियन्त्रणको प्रयास गरे मात्र राज्यमा सुशासन कायम गर्न सकिने उल्लेख गर्नुभयो । 

पत्रकार राजेन्द्र फुयाँलले विद्यालय तहदेखि नै समाजमा सुशासन कायम गर्न सहयोग पु¥याउने किसिमका पाठ्यक्रम राख्नु आवश्यक भएको बताउँदै संस्थागतरुपमै भ्रष्टाचार हुने प्रवृत्तिले दिनप्रतिदिन जटिलता निम्त्याएको बताउनुभयो । 

बुधबारदेखि कास्कीका विभिन्न विद्यालयमा जारी अभिमुखीकरण कार्यक्रममा ११ र १२ कक्षाका साथै स्नातक तहका विद्यार्थीलाई भ्रष्टाचार नियन्त्रण एवम् न्यूनीकरणका विविध पक्षबारे जानकारी गराइएको सेन्टर फर मिडिया फ्रिडमका संस्थापक सदस्य एवं पत्रकार बिमल गौतमले जानकारी दिनुभयो । 

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले यस किसिमका अभिमुखीकरणले बिस्तारै जनमानसमा भ्रष्टाचार विरुद्धको सचेतना अभिवृद्धि गर्ने बताउनुभयो । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समाजको तल्लो तहदेखि नै भ्रष्टाचार नियन्त्रणको प्रयास गरे मात्र राज्यमा सुशासन कायम गर्न सकिने उल्लेख गर्नुभयो । 

परियोजना निर्देशक डा. पियुष मिश्रका अनुसार बुधबार पार्दी उच्च मावि, छोरेपाटन उच्च मावि र बिहीबार जनप्रिय बहुमुखी क्याम्पसका लगभग चारसय विद्यार्थीलाई अभिमुखीकरण गराइएको छ । 

त्यस्तै, शुक्रबार गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरेपाटन र रुपा गाउँपालिकास्थित रामकोट उच्च माविमा अभिमुखीकरण गराइने आयोजकले जनाएको छ । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!