डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

Posted on: 01 Sep, 2017

भदौ १६, डडेलधुरा । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गा लगायतका गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् ।

कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासीले बताएका छन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । 

उनीहरुमा ज्वरो, टाइफाइड, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएका छन् । दैनिक १५ देखि २० जना त्यस्ता बिरामी स्वास्थ्य चौकीमा आउने गरेको समैजी स्वास्थ्य चौकीका प्रमुख कृष्ण पालले बताएका छन् ।

 आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जानसम्म समस्या भइरहेको हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!