ओखलढुंगाका जनप्रतिनिधि आफ्नो परिचय दिन समेत जान्दैनन्

Posted on: 03 Sep, 2017

पूर्णप्रसाद न्यौपाने | भदौ १८, ओखलढुंगा | झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर वास्तविकता पत्याउन गाह्रो पर्नेनै छ । ओखलढुंगाका अधिकांश जननिर्वाचित प्रतिनिधिहरुलाई आफ्नो परिचय दिन समेत सकस पर्छ । आयोजित कार्यक्रमहरु र नयाँ मानिससँगको भेटमा वडा सदस्य र गाउँसभामा मनोनित सदस्यहरुलाई आफ्नो नाम, ठेगाना र पद भन्न नै निकै समस्या पर्ने गरेको पाईएको हो । 

मंगलबार एउटा  गैर सरकारी संस्थाको आयोजनामा खिजीदेम्बा गाउँपालिकामा भएको पालिका स्तरीय कार्यक्रममा पालिका अध्यक्ष,उपाध्यक्ष,नौ वटै वडाका अध्यक्ष सहित करिब करिब सबै निर्वाचित पदाधिकारीहरु सहभागि थिए । 

कार्यक्रमका उद्घोषकले मुख्य अतिथिको आसनग्रहण पछि सबै माझ परिचयको कार्यक्रम राखे । कार्यक्रम अनुसार एकपछि अर्को आफ्ना ठाउँबाट उठेर आफ्नो नाम, ठेगाना, आवद्धता र पद भन्नुपर्ने थियो । मञ्चमा बसेका सबै अतिथि पछि परिचय गर्ने पालो जनप्रतिनिधीहरुको आयो । 

क्रमशः एक पछि अर्काको परिचय दिनेक्रम चलिरह्यो तर त्यो परिचय कार्यक्रममा अधिकांश जनप्रतिनिधि आफ्नो परिचय दिन नजानेर हाँसोको पात्र बने । 

‘नमस्कार म महिला सदस्य हुँ पहिलेको खिजीफलाटे......’ केहीबेर रोकिएर ‘उम् कति पो वडा हो ५ ए होईन ६ हेहे.....होईन ५ .........’ भनेपछि छेउमा बसेका अरुले सम्झाईदिए तपाई वडा नं. ६ को वडा सदस्य भनेर त्यसपछि उनले हजुर हो भनिन् । तर यति अल्मल गर्दागर्दै उनलाई बस्न हतार भयो नाम भन्न छुटाईन र छिट्टो गरेर पालिका अध्यक्ष वेदबहादुर रोकाले उनको नाम भन्दिए (नाम गोप्य) । त्यस्तै अन्य केही सदस्यहरुले परिचय दिन जानेनन् । एक अर्काले सम्झाउँदै परिचय गराए । वडामा निर्वाचित सदस्य देखि पालिकामा मनोनित सदस्य समेतलाई परिचय दिन निकै समस्या पर्यो । एक जना पालिका सदस्यले म पालिका सदस्य भन्न अनकनाए पछि उनको परिचय अर्का पालिका सदस्यले भन्दिए । कार्यक्रमका वत्ताहरुले समेत यस विषयलाई उठान गरे । ‘परिचय नै दिन अहिलेसम्म नजान्नु लज्जास्पद कुरा हो, सिक्नुस् सिकेर सानु भईन्न बरु जान्ने भईन्छ’ एकजना वत्ताको भनाई । 

कार्यक्रममा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिको आवश्यकता देखिएको विषय समेत उठेपछि पालिका अध्यक्ष वेद बहादुर रोकाले अभ्यस्त नभएकाले सामान्य समस्या रहेको बताए । ‘बानी छैन,विस्तारै कसरी राम्रो गर्ने भन्ने सिकाई भईरहेकै छ’रोकाले भने ‘मिलाएर बोल्न नजान्ने केहीको समस्या होला तर उहाँहरु जनताको माग र आवश्यकतामा कडा अडान राखेर काम गर्न सक्ने हुनुहुन्छ ।’ 

शुक्रबार त्यस्तै अर्को कार्यक्रम लिखु गाउँपालिकामा पनि सञ्चालन भयो । त्यहाँ पनि समस्या उहि देखियो । सहभागी मध्ये वडा सदस्यहरु अधिकांशलाई परिचय गर्न निकै समस्या भईरहेको थियो । ‘के भन्नु हो.......हेहे मेरो नाम चाहीँ ........ अरु त के भन्नु हो ?’ 

नजिकै बस्नेले ठेगाना भन न ठेगाना भनेपछि ‘लिखु,साविकको लिखु,ए होईन होईन साविकको लिखु अहिलेको यसम’ उनि साविकको यसम गाविस हाल लिखु गाउँपालिकाका वडा सदस्य हुन् । निकै कष्ट गरेर परिचय दिए तर त्यति गर्दापनि कति नम्बर वडाको वडा सदस्य भन्न सकेनन् । 

केही दिन अघि चम्पादेवीमा आयोजना गरिएको पालिका स्तरको एउटा कार्यक्रममा पनि जनप्रतिनिधिहरुमा परिचय गर्न समस्या भएको पाईएको थियो । 

माथि प्रस्तुत गरिएको खिजीदेम्बा,चम्पादेवी र लिखुको घटना देखिएका केही उदाहरण मात्रै हुन् । जिल्लाको         सिद्धिचरण नगरपालिका सहित सबै आठ वटै गाउँ तथा नगरपालिकाका अधिकांश निर्वाचित सदस्यहरुमा यो समस्या देखिएको छ । केही दिन अघि सदरमुकाममा सञ्चालन भएको अर्को एउटा कार्यक्रममा केही पालिका उपप्रमुखहरुलाई समेत परिचय दिन समस्या भईरहेको थियो । 

देश संघिय संरचनामा गईसकेपछि साविकको ठेगाना समेत परिवर्तन भएकाले पनि परिचय दिन समस्या पर्ने गरेको बताइन्छ । नयाँ संरचना र नयाँ जिम्मेवारीबारे बोल्ने बानी नभएकाले धेरै मानिसको उपस्थितीमा आफुहरु झुक्किने गरेको स्वयं उनिहरुको प्रतिक्रिया छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!