डडेल्धुरामा आयोजित यस वर्षको राष्ट्रिय गौरा महोत्सव सम्पन्न

Posted on: 04 Sep, 2017


भदौ १९, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गत बिहीबारबाट डडेल्धुरामा सुरु भएको राष्ट्रिय गौरा महोत्सव आइताबार सम्पन्न भएको छ ।

आइतबार अन्तिम दिन गौरानाच, फाग, धुमारी, बालोनाच जस्ता कार्यक्रमका साथै गौरादेवीलाई पुजाआजका साथ बिर्सजन गरि यस वर्षको गौरा समापन गरिएको हो ।

चार दिन सम्म संचालनमा रहेको गौरा महोत्सवमा महिला र पुरुष देउडा प्रतियोगिताहरु पनि संचालन गरिएको थियो । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ जिल्ला सदरमुकामको बसपार्कमा आयोजना गरेको हो ।

आफ्नो परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।  आफ्ना सन्ततीहरुको आयु लामो होस र दिर्घायु होस भनि धार्मिक परम्परा अनुसार परम्परादेखि नै यो पर्व मनाउदै आएको स्थानीय भवानी दत्त ओझाले बताएका छन् ।

साथै पार्वतीले महादेव पति पाउँ भनेर गरेको निरहार तपस्या वा ब्रतको सम्झनास्वरुप मुख्यतः गौरा पर्व मनाइने गरेको डडेल्धुरा हाटगाँउकी राधा देवी उप्रेतीले बताईन् ।

पहिले सरकारले गौरा पर्वको अवसरमा सुदूरपश्चिममा मात्रै विदा दिने गरेकोको भएपनि अहिले भने देशैभर सार्वजनिक विदा दिने गरेकोमा सुदूपश्चिमबासीहरुका लागी खुसिको कुरा भएको बताउदै आयोजक श्री राधा कृष्ण मन्दिर विकास समिति डडेल्धुराका उपाध्यक्ष भोजराज ओझाले यस वर्षको ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ लाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!