नुवाकोटमा अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता

Posted on: 04 Sep, 2017


भदौ १९, नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैधरुपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् । 

आइतबार राती नदीबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भासिदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो । 

“चालकले भाँसिएको स्काभेक्टरको झ्यालको ढोका फुटाएको देखिएकाले निस्किएर नदीमा बेपत्ता भएको हुनसक्ने अनुमान गरेका छौँ ।” एसपी बस्यालले भन्नुभयो “नदीमा खोज्ने र सञ्चालकसँग समेत बुझ्ने काम भइरहेको छ ।” 

घटना राति १ बजेको भए पनि प्रहरीले भने बिहान ७ बजे मात्र जानकारी पाएको जनाएको छ । जालपादेवी बालुवा प्रशोधन उद्योग प्रालिको रुपमा सञ्चालनमा रहेको कम्पनीले नदीबाट रातको समयमा अवैधरुपमा बालुवा उत्खनन गर्ने गरेको प्रहरीले जनाएको छ । कम्पनीका लगानीकर्ता सातजना रहेकाले उनीहरुलाई कारबाहीको लागि अनुसन्धान भइरहेको र हराएका व्यक्तिको समेत खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

अवैधरुपमा नदीबाट बालुवा झिक्ने कार्य नियन्त्रण नहुँदा मजदुर नदीमा बगेर तथा पुरिएर हराउने क्रम वृद्धि हुँदै गएको छ । जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्प, सामरी सलाखु, फलाखुलगायतको खोलामा ‘हेभी इक्युमेन्ट’ प्रयोग गरी अवैधरूपले बालुवा उत्खनन हुँदै आएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!