तीन दिनसम्म ट्रक चालकसंग होटलमा बसेकी युवती मृत्युको घटना शंकास्पद

Posted on: 04 Sep, 2017

भदौ १९, दैलेख । कालीकोट जान भदौ १४ गते हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ । 

युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भयो । 

जिप्रका दैलेखले दिएको जानकारीअनुसार सुर्खेतबाट कालीकोट जानका लागि ना५ख १८८७ नंको ट्रकमा भदौ १४ गते चढेकी मनशोभा न्यौपानेले १७ गते दैलेखको खिड्कीज्यूलाको आले होटेलमा विष सेवन गरेकी थिइन् । 

गाडी चालक लक्ष्मीप्रसाद आचार्यले उनलाई सुर्खेतबाट लगेका थिए । बाटोमा तीनदिनसम्म बसेका कारण उनको बलात्कारपछि हत्या हुन सक्ने भन्दै परिवारले आशंका गरेका छन् । जिप्रका दैलेखमा किटानी जाहेरी मुद्दासमेत दर्ता भएको छ । 

अनुसन्धानका लागि जिप्रका दैलेखले ट्रक चालक लक्ष्मीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । मृतक मनशोभाका बुबा लालु न्यौपानेले हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । 

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा–भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा बसेका थिए । 

सुर्खेतबाट कालीकोट पुग्नका लागि एक दिनको समय लाग्छ धेरै ढिलो भएमा बाटोमा बास बसे पनि भोलिपल्ट बिहान पुगिन्छ । तीन दिनसम्म होटलमा राखेका कारण बलात्कार भएको र त्यसपछि हत्याको बहानामा विष सेवन गराइएको हुनसक्ने भन्दै आफन्तले किटानी जाहेरी मुद्दा दर्ता गरेका हुन् । 

प्र्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको छ । कर्णाली राजमार्गअन्तर्गतको सडक बिग्रेका कारण विगत पाँच दिनदेखि सडक अवरुद्ध भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!