मकवानपुरमा महिला र बालबालिका हराउने क्रम बढ्यो

Posted on: 04 Sep, 2017

जिवराज बख्रेल | भदौ १९, मकवापनुर | मकवापनुर जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको  तथ्याङक अनुसार  महिला तथा बाल बालिका हराएको भन्दै खोजीका लागि प्रहरीमा जाहेरी पर्ने क्रम  बढेको छ । 

जिल्ला प्रहरीको अभिलेखअनुसार आव २०७०/०७१ मा ४५ महिला, १४ बालक र २१ बालिका हराएका थिए भने आव २०७१/०७२ मा ११० महिला, २४ बालक र २९ बालिका हराए । त्यस्तै आव २०७२/०७३मा महिला २१९ बालक ३० र बालिका ४० जना हराएको उजुरी परेको छ। भने आर्थिक बर्ष २०७३/०७३ मा १४८ महिला १० बालक र ५९ बालिका हराएका छन् ।  यो तथ्याङक हेर्दा अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षमा मानिस हराउने क्रम बढेको छ ।  प्रहरीको रेकर्डअनुसार हराएकामा अधिकांस महिला,बालबालिका फेला पर्ने गरेका छन् ।  

जिल्ला प्रहरी कार्यालयकाका अनुसार बालबालिका लहैलहैमा घरबाट भागेर सहरतिर र भारततिर जाने गरेको पाइएको छ । अभिभावकलाई थाहै नदिई भागेर गएका बालबालिका बेपत्ता हुने गरेका छन् । भने कतिपयलाई ललाई फकाई लैजाने गरिएको  छ । महिलाहरू भने घरायसी विवाद र असन्तुष्टिले गर्दा घर छाडेर बेपत्ता हुने गरेका छन् । कतिपय हराएका भनिएका महिलाले परपुरुषसँग दोस्रो विवाह गरेको पाइको छ । हराउनेहरूमा अधिकांश विवाहित महिला छन् । बालिका भने प्रलोभन र रमाइलोको खोजीमा गाउँघरबाट भागेर अन्यत्र जानाले बेपत्ता हुने क्रम बढेको पाइएको छ । कतिपय मानिस हराएपछि प्रहरीमा खोजीका लागि जाहेरी गर्ने र केही समयपछि घर फर्किएमा प्रहरीमा जानकारी नगराउने भएकाले पनि हराएको अभिलेखमा रहिरहेर बढी देखिएको प्रहरीको भनाई छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!