मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

Posted on: 05 Sep, 2017

भदौ २०, बर्दिवास । भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष(सोह्रश्राद्ध) शुरु भएको छ । 

दशैँ, तिहार र छठसहितका राष्ट्रिय महत्वका चाडबाडअघि असोज कृष्णपक्षभरि पितृलाई तृप्त गराउने परम्परानुसार आज यस क्षेत्रका धार्मिक महत्वका ताल, तलाउ र नदीतटमा पितृलाई तर्पण दिनेको घुइँचो बढेको छ । 

पितृपक्ष शुरु भएसँगै बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड, मटिहानीस्थित लक्ष्मी सर, जलेश्वर नगरपालिकाको जलेश्वरस्थित भार्गव सर, वरुण सर र पुरन्दर सरसहितका तलाउमा तर्पण दिनेको निकै छ । मैथिल समुदाय आफ्ना पितृलाई तर्पण दिन धार्मिक महत्वका तलाउ पुगेसँगै यजमानी पेशाका पुरोहितलाई संकल्प पढिदिन भ्याइनभ्याइ परेको देखिन्छ । 

यसबाहेक बर्दिबास नगरपालिकाको राइमण्डल धार्मिक क्षेत्र, टुटेश्वरधाम नजिकको बाँके नदी तट र रातु नदी किनारमा पनि तर्पण दिनेहरु भरिभराउ देखिएका छन् । भाद्र पूर्णिमादेखि असोज औँसीसम्मका सोह्र तिथिसम्मको अवधिलाई पितृपक्ष मानिने हिन्दू परम्परानुसार आजै यस पक्षमा गरिने पार्वण र एकोपार्वण विधिका श्राद्ध गर्न थालिएको छ । 

आज सूर्योदयपछि १५ घडी ५५ पलाको भोगसँगै पूर्णिमा सकिएर असोज कृष्ण प्रतिपदा शुरु हुने भएकाले पूर्णिमा तिथिमा गरिने श्राद्ध मध्याह्नअघि र प्रतिपदा तिथिको श्राद्ध मध्याह्नपछि गरिने बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता पुरोहित दिनेशकुमार झाले जानकारी दिनुभयो । पितृपक्षमा एकैदिन धेरै ठाउँमा पार्वण श्राद्ध गरी दिनुपर्ने हुँदा समय व्यवस्थापनमा भ्याइनभ्याइ भएको पुरोहित झाले बताउनुभयो । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!