बेनी–जोमसोम सडक रातको समयमा बन्द

Posted on: 06 Sep, 2017

भदौ २१,म्याग्दी। बेनी–जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ । 

सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो । 

तर, अहिले पनि समस्या पहिलेकै जस्तो रहेकाले भदौ ३१ गतेसम्म समय थप गरिएको र तोकिएको समयमा सवारीसाधन सञ्चालन गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले समय अवधिलाई भदौको अन्तिमसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात व्यवसायीले समेत सहमति जनाएका थिए । 

रातको समयमा सवारीसाधन सञ्चालन गर्दा मानवीय जोखिम बढेपछि समय अवधि तोकेर यातायात बन्द गर्ने निर्णयको सरोकारवाला निकायले समेत स्वागत गरेका छन् । 

कुल ७६ किलोमिटरको सडकखण्डअन्तर्गत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ । अन्नपूर्ण गाउँपलिका–३ दानाको गुँइठेभीर, दानाकै काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोले गर्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडकखण्डअन्तर्गत पर्ने खोलाको सतहसमेत घटेको छैन । 

“म्याग्दी खण्डमा धेरै पहिरोले सताएको छ” बेनी–जोमसोम–सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भन्नुभयो । शेरचनले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३, गुँइठेभीर, घट्टेखोला, काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको बताउनुभयो । 

गत वर्ष बेगखोलामा आएको बाढीले बस्ती र खोलाको बेलिब्रिज बगाए पनि सम्बन्धित निकायले खोलामा पक्की पुल बनाउनेतर्फ ध्यान नदिँदा सवारीसाधनका साथै पैदलयात्रीलाई समेत सास्ती भएको स्थानीयवासीको भनाइ छ । 

आजदेखि शुरु भएको सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तीर्थयात्रीलाई समस्या भएको छ भने मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको व्यापारीले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!