समाचार प्रभाब : भद्रकुमारीको घर बन्ने भयो

Posted on: 17 Jan, 2016

प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।

हमरजुङ्ग–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीको घर वि.स. २०६८ सालको भुकम्पले क्षति गरेपछि अर्को घर बनाउन सकेकी थिइनन् । तत्काल पाएको पाल र राहतको सहयोगमा घर सँगै रहेको गोठमा बस्दै आएकी तोलाङ्गीको विषयमा विभिन्न सन्चारमाध्यममा समाचार प्रकाशित भएपछि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको हो । हालै तेह्रथुम घर भएर हाल इजरायलमा काम गर्दै आएका देव बाँस्कोटाले १० हजार रुपैयाँ भद्रकुमारीको घर निर्माणकालागि सहयोग गरेका छन् ।

यस्तै अन्य विभिन्न क्षेत्रबाट समेत उनको अवस्थाको विषयमा चासो बढेको छ । गाउँ विकास समितिमार्फत पाउने सामाजिक सुरक्षा भत्ताकालागि समेत समाचार प्रकाशित भएपछि पहल सुरु भएको स्थानीय संचारकर्मी प्रकाश पाक्साँवाले बताउनुभयो । बाबुआमाको साथमा बसेकी अविवाहित भद्रकुमारीका बाबुआमाको मृत्युपछि घरमा एक्लै बस्दै आएकी थिइन् ।

भएको घर भत्किएपछि गोठमा बसेकी उनलाई विरामी पर्दा चिसोले सताएको सम्बन्धी समाचार प्रकाशित भएपछि सरोकारवाला र सरकारी निकायको समेत चासो बढेको छ । उनले आफुलाई बस्ने छाप्रो बनाउनकालागि अरु दयालु मनहरुलाई समेत आग्रह गरेकी छिन् । विभिन्न क्षेत्र र व्यक्तिहरुबाट प्राप्त सहयोगले घर बनाउने उनले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!