मादक पदार्थ सेवन गरी विद्यालय आउने प्रअ पक्राउ

Posted on: 14 Sep, 2017

भदौ २९, इलाम। मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

बारम्बार मादकपदार्थ सेवन गर्ने श्रेष्ठलाई पटकपटक चेतावनी दिँदासमेत नसुध्रिएपछि विद्यालयमै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेवन गरेर विद्यालय नै दुर्गन्धित हुने गरी विद्यालय आएपछि प्रहरीले प्रअ श्रेष्ठलाई नियन्त्रणमा लिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 

जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत डम्बर सुवेदीले विद्यालयका प्रअलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार कारबाही हुने बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!