मोरङमा नहरमा डुबेर बालक बेपत्ता

Posted on: 14 Sep, 2017

भदौ २९, मोरङ। मोरङको बूढीगंगा गाउँपालिका–६ घेराबारी टोलमा बुधबार साँझदेखि नहरमा डुबेर एक बालक बेपत्ता भएका छन् । 

सोही ठाउँका देउमान लिम्बूका पाँचवर्षीय छोरा आर्यन लिम्बू खेल्ने क्रममा साँझ घेराबारी टोलस्थित चतरा मूलनहरमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

लागुऔषधसहित युवक पक्राउ 

यसैबीच, मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले गएराति लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी धरान–१६ बस्ने २० वर्षीय सोरेन विश्वकर्मा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले राति ९ बजे पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट शरीरको विभिन्न भागमा लुकाएर ल्याएको लुपिजेसिक ८ एम्पुल, डाइजेल्याप ८ एम्पुल, एभिल ८ एम्पुल गरी जम्मा २४ एम्पुल बरामद गरेको छ । 

पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय निमुवामा राखेर थप अनुसन्धान भइरहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!