प्युठान नगरमै विद्यालय आउजाउ गर्न चार घण्टा हिड्नुपर्छ

Posted on: 14 Sep, 2017

सागर शर्मा। भदौ २९, प्युठान। प्युठान नगरपालिका–५ चान्जा गाउँका १६ वर्षीय बिनाराम बैजाली कक्षा ६ मा पढ्छन । विहान आठ बजेनै उनलाइ विद्यालय जान तयार हुनुपर्छ । घरबाट विद्यालय पुग्न उनलाई दुई घण्टा  हिड्नुपर्छ । 


गाउमा रहेको विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । माथिल्लो तहमा पढ्न गाउँका विद्यार्थीहरुलाई जुम्रीकाँढाको शिद्ध मावि ठुलागाँउ पुग्नुपर्र्ने बाध्यता छ । ‘विहान उठेर घरको काममा सघाउनुपर्छ,’ बैजालीले भने,‘विहान साढे ७ बजे खाना खाइसक्नुपर्छ ।’ खाना खाएर तयार हुँदा ८ बज्ने उनले बताए । 

विद्यालय जान आउन मात्र दैनिक चार घण्टा हिड्नुपर्ने भएकाले घरमा पढ्ने समय नहुने उनको भनाई छ ।  ‘स्कुलमा जति पढ्यो त्यो भन्दा बढी घरमा पढ्न समय नै हुँदैन,’ उनले भने,‘घरको काममा पनि सघाउनुपर्छ ।’

चान्जा गाउँ प्यूठान र रोल्पाको सिमानामा पर्छ । २३ घरधुरी रहेको दुर्गम गाउँ चाम्जामा अहिले सम्म कसैले पनि दश कक्षा पास नगरेको स्थानीय बताउँछन । गाउँ विकट र विद्यालय टाढा भएकाले विचमै पढाई छाडेर भारत जाने गर्दछन । बिनाराम घरबाट दिनहु एक्लै विद्यालय आउजाउ गर्छन । 

आफुसित अध्ययन गर्ने सहपाठी कोहि पनि नहुँदा घनाघोर जंगल छिचोलेर दैनिक चार घण्टाको बाटो हिड्नैपर्ने विनारामकी आमा गोमा बैजालीले बताइन् । ‘स्कुल टाढा छ, कहिले जान्छ कहिले जान्न,’ उनले भनिन्,‘एक्लै स्कुल आउजाउ गर्दा छोरा घर नआइपुगुनजेल चिन्ता लाग्छ ।’ बिद्यालय टाढा हुँदा पढाइलेखाइ समेत सोचेजस्तो राम्रो हुन नसकेको उनले बताईन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!